गठबन्धनभित्र एकआपसमा विश्वास दिलाउने तँछाडमछाड

काठमाडौँ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले नयाँ समीकरण बनाउन कसरत गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् ।
दोस्रो तहका नेताको सक्रियताले सशंकित प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेको गठबन्धन बैठकमा देउवाले सत्ता सहयात्री दललाई नयाँ समीकरण नबनाउने विश्वास दिलाएका हुन् ।
एमालेले ठूलो पार्टीले सरकारको नेतृत्व गर्दा प्राकृतिक हुने र दुई ठूला दल मिल्दा मात्रै राजनीतिक स्थिरता एवं सरकारको प्रभावकारिता देखिने तर्कसहित अघि सारेको प्रस्तावमा छलफल भइरहेका बेला देउवाले स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गरेको चर्चा चलेको थियो । सिंगापुरबाट फर्केलगत्तै उनले महत्त्वपूर्ण राजनीतिक निर्णय लिन सक्ने आशंका भइरहेको थियो । देउवा शुक्रबार राति सिंगापुरबाट फर्केको भोलिपल्टै दाहालले बजेट पारित गर्ने विषयमा छलफल गर्ने भन्दै पाँच दल सम्मिलित सत्ता गठबन्धनको बैठक राखेका थिए ।
बैठकमा बजेटको विषयभन्दा कांग्रेस र एमालेबीचको समीकरणको चर्चाले उत्पन्न गराएको तरंगमाथि गम्भीर छलफल भएको सहभागी नेताहरूले बताएका छन् । ‘शेरबहादुरजीको अनुहार एकदमै फुर्तिलो र चम्किलो देखिएको थियो । त्यसैलाई जोडेर एक नेताले तपाईंको अनुहार एकदमै फुर्तिलो देखिएको छ, स्वास्थ्य उपचार राम्रो भएछ क्या हो भन्नुभयो । देउवाजीले हो, पूरै समय स्वास्थ्य उपचार गरेर फर्किएँ भन्नुभयो,’ ती नेताले भने, ‘त्यसपछि त्यति मात्रै होइन भन्ने कुरा आएको छ, ठुल्ठूला राजनीतिक भेटघाट भएको, सत्ता समीकरणको कुरा पनि चलेको भनिन्छ, के हो भनेर कुरा उठ्यो । उहाँ (देउवा) ले त्यस्तो केही होइन, कसैसँग भेट भएको छैन । उपचार गर्न जाँदा पनि राजनीति गर्ने, हल्ला गर्ने भन्दै झोक्किनुभयो ।’
बैठकमा देउवाले सिंगापुरमा कुनै राजनीतिक भेटवार्ता नभएको र यही गठबन्धनलाई पूरा अवधि लगिने बताएको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । केही आशंका रहे पनि त्यसलाई प्रस्ट पारिएपछि गठबन्धन भत्किने विश्वास नभएको उनको भनाइ छ । ‘प्रसंगवश तपार्इंलाई भेट्न को–को गए रे, तिनीहरूसँग कुराकानी भयो रे, सत्ता समीकरणबारे पनि कुरा चल्यो रे भन्ने विषय उठ्यो । देउवाजीले ती सबै वाहियात रहेको बताउनुभयो,’ पाण्डेले कान्तिपुरसँग भने, ‘मानौं, शेरबहादुरजीलाई प्रधानमन्त्री नै दिने भए रे, यसले कांग्रेसलाई के फाइदा हुन्छ ? शेरबहादुरजी नै अविश्वसनीय बन्नुहुन्छ, सबै राजनीतिक दलको नजरमा गिर्ने काम हुन्छ । पार्टीभित्रै एकथरीले त्यस्तो चाहिरहेका होलान् । देउवाजी प्रधानमन्त्री बन्दैमा गज्जब हुन्छ भन्ने पनि छैन ।’
उनले अहिले नै शक्तिशाली र महत्त्वपूर्ण मन्त्रालय कांग्रेससँग रहेको पनि उल्लेख गरे । देउवाले गठबन्धन दलका शीर्ष नेतृत्वलाई आश्वस्त पारेपछि प्रधानमन्त्री दाहालले राहतको सास फेरेका छन् । उनले सोमबार नै एक सार्वजनिक कार्यक्रममा वर्तमान गठबन्धन पाँच वर्ष नै टिक्ने अभिव्यक्ति दिएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने क्रममा उनले भनेका थिए, ‘सरकारको आयु कति भनेर मिडियामा चर्चा चल्न थालेको छ, पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
देउवा गत जेठ ३० मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । सातौं दिनमा फर्कने कार्यक्रम भएकामा उनले एक दिन बसाइ लम्बाएपछि राजनीतिक भेटवार्ता भएको चर्चा चलेको थियो । त्यहाँ छँदा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि भेटवार्ता भएको चर्चा आएको थियो । देउवाले गठबन्धन बैठकमा त्यसको पनि खण्डन गर्दै भेट नभएको दाबी गरेका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति देउवा वर्तमान गठबन्धनकै पक्षमा रहेको बताए । ‘खास कुरा केही होइन । त्यत्तिकै हल्ला गरेका हुन् । गठबन्धन भत्काउने कुरा कहाँ हुन्छ अहिले ? त्यस्तो छैन । म बाहिर भएकाले हल्ला चलेको हो,’ देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने ।
देउवानिकट एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग समीकरण बनाउन सकिन्छ कि भनेर विभिन्न नेतासँग संवाद अघि बढाएकाले बाहिर हल्ला चलेको हो । ओली र एमालेकै दोस्रो तहका नेताहरूले पछिल्लो पटक कांग्रेसका संस्थापन र संस्थापनइतर दुवै पक्षका नेताहरूसँग अनौपचारिक संवाद पनि गरेका थिए । ओलीले कांग्रेसका संस्थापन पक्षका नेताहरूका अतिरिक्त नेता शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेतासँग समेत विभिन्न माध्यमबाट कुराकानी गरेका थिए । एमाले उपाध्यक्ष सुवास नेम्वाङले असार ७ मा कांग्रेसका दोस्रो तहका नेताहरूसँग हार्दिकताका साथ कुराकानी भइरहे पनि गठबन्धनबारे ठोस कुराकानी नभएको बताएका थिए । कांग्रेस महामन्त्री थापाले काठमाडौं–४ को क्षेत्रीय सम्मेलनलाई असार ९ मा सम्बोधन गर्दै अहिलेको सरकारले चित्तबुझ्ने काम गर्न नसके गठबन्धन फेरिने बताएका थिए । त्यसपछि झनै राजनीति तरंगित भएको थियो ।
कांग्रेसका कतिपय नेताहरूको भनाइमा अर्को गठबन्धनको कसरतमा लाग्दा पुस १० को घटना दोहोरिन सक्ने भएकाले देउवाले तत्काल जोखिम उठाउन चाहेका छैनन् । ‘गत पुस १० मा बालुवाटार आउँछु भनेका एमाले अध्यक्ष ओलीले दाहाललाई बालकोट बोलाएर प्रधानमन्त्री बनाएको घटना एकातिर छ भने अर्कातर्फ दाहाललाई आफूले धोका दिएको भन्दै लामो समयसम्म पश्चाताप गरेको दृश्य पनि उनले भुलेका छैनन्,’ देउवानिकट एक नेताले भने, ‘एमालेका साथीहरूले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भनेकै छन्, ७ पटक पुग्न ६ पटक प्रधानमन्त्री हुनुपर्यो, त्यसका लागि एमाले तयार छ भनेर विभिन्न माध्यमबाट कुराकानी गरिरहनुभएकै छ । तर, पार्टी सभापतिलाई भरपर्दो विश्वास छैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता बालकृष्ण खाण जेल परेको, पत्नी आरजु राणालाई जोडेर बदनाम गराउने काम भएको भन्दै देउवा दाहालसँग पहिलाजस्तो खुसी भने छैनन् । सिंगापुर जाने बेला देउवाले केही निकटस्थलाई नेता खाण धरौटीमा छुट्ने आश्वासन दिएका थिए । त्यसविपरीत अदालतको निर्णय आएपछि देउवालाई माओवादीप्रति नै संशय छ । नक्कली भुटानी प्रकरणपछि कांग्रेस सरकारमा समेत रक्षात्मक हैसियतमा रहेको बुझाइ देउवाको छ । ‘यी सबै घटनाक्रमले पार्टी सभापतिलाई भित्रभित्रै तीन वर्षपछिको पालो पर्खंदा के हुने हो, निर्वाचनको मुखमा वामपन्थी गठबन्धन नै बन्ने हो कि भन्ने लागेको होला,’ देउवानिकट ती नेताले भने, ‘तर माओवादीलाई धोका दिँदा उसले पनि धोका नदेला भन्ने के विश्वास ? त्यसैले जोखिम देखेरै पार्टी सभापति गठबन्धनको विपक्षीमा जानु हुन्न ।’ कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्