म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधी बन्न सक्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साउनभित्रै आफू स्वदेश फर्कन लागेको बताएका छन् । देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै यही महिनाभित्र स्वदेश फर्कने बताएका हुन्।
निवर्तमान सभापति देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका हुन्। उनले सरकार प्रतिशोधी बन्न सक्ने बताएका छन् । “सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ,” उनले भनेका छन्, “तर, म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु ।”
उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग आग्रह गरेका छन् ।
“आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु,” उनले भनेका छन् ।
लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन नसक्ने उनको टिप्पणी छ । “त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो,” देउवाले भनेका छन्, “गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई हामीले सम्मान गर्यौँ ।”
प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने आफूहरूको प्रतिबद्धता रहेको उनले बताएका छन् ।
“तर, दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्,” उनले वक्तव्यमा भनेका छन् ।
न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिएको उनले उल्लेख गरेका छन् ।
“यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ,” उनले भनेका छन् ।
वर्तमान परिस्थितिले सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको पनि देउवाको भनाइ छ ।
“आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ,” उनले भनेका छन्, “प्रतिशोध होइन, सहकार्य चाहिएको छ ।”
इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको उनको भनाइ छ । प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्ने पनि उनले वक्तव्यमा उल्लेख गरेका छन् ।
देउवा दम्पतीमाथि जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते बुढानिलकण्ठ निवासमै गएर आक्रमण गरिएको थियो। त्यसपछि उपचारका लागि देउवा पटक पटक विदेश गइरहेका छन्।
यस्तो छ विज्ञप्ति-







प्रतिकृया दिनुहोस्