April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास

दिपायलः नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नै भवनको निर्माण थालेको छ । आज भवनको शिलान्यास गर्दै निर्माणको सुरूवात गरिएको हो । दिपायलको पिपल्ला बजारस्थित निर्माणस्थलमा एक विशेष समारोहका बीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले भवनको शिलान्याश गरेका छन् ।
भवनको शिलान्यास गर्दै पूर्वमन्त्री बलायरले भवनको निर्माणले डोटेली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । ‘डोटेली पत्रकारिता अहिले आधारभूत तहभन्दा माथि उठेर संस्थागत र पेशागत विकासको तीब्र गतीमा अघि बढिरहेको छ,’ उनले भने,‘सँगसँगै जनताको सुसूचित हुन पाउने हकलाई पनि सोहीअनुसार प्रत्याभुत गर्नेगरी अगाडि बढिरहेको मैले पाएको छु ।’
आफू सदैव स्वतन्त्र र मर्यादित प्रेस, विधिको शासन र लोकतन्त्रका पक्षमा कटिबद्ध भएर लागेको पनि नेता बलायरले बताए ।

नेपाल प्रेस युनियनका देशभरकै जिल्ला शाखाहरुमा आफ्नै भवन हुने डोटी दोस्रो शाखा हुने भएको छ । यसअघि चितवन शाखाको आफ्नै भवन छ । यस्तै सुनसरी र दाङ शाखासँग आफ्नै जमिन रहेको प्रेस युनियन केन्द्रीय समितिले जनाएको छ ।