April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीका स्थानीय तहको एकस्वर-जलाधार संरक्षणलाई विशेष प्राथमिकता

मौवानगरदह(डोटी): डोटी जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा जलाधार संरक्षण सम्बन्धी निति तथा कार्यक्रमलाई विशेष प्राथमिकता राख्ने निर्णय गरेका छन् । सोमबार आदर्श गाउँपालिकाको मौवानगरदहमा बसेको अन्तरपालिका समन्वय कार्यक्रममार्फत जिल्लाका नौवटै स्थानीय तहले तीन बुँदे निर्णय गर्दै जलाधार संरक्षणको विषयलाई मुख्य जोड दिएका हुन् ।
यस्तै थप दुई निर्णयमा डोटी जिल्लाका सम्पूर्ण स्थानीय तहले आगामी वर्षको बजेट विनियोजन र निति, कार्यक्रम तयार गर्दा सबै पालिकाहरूमा एकरुपता ल्याउने र सबै पालिकाले पालिकास्तरीय गौरवका योजनाहरूतय गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेका छन् ।
अन्तरपालिका समन्वय कार्यक्रमको संयोजन आदर्श गाउँपालिकाले गरेको थियो । यसैले कार्यक्रमको अध्यक्षता पनि आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले विश्वव्यापी जलवायू परिवर्तनको असर नेपालमा चरम रुपमा पर्दैगएकाले त्यसबाट जोगिन र भविष्यको पुस्ताका लागि पनि जलाधार क्षेत्र बचाएर राख्नका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने महशुस गरेकाले यस्तो निर्णय गरिएको बताए । उनले भने,‘जसमा सबै पालिकाहरूको ध्यान पनि तानिएको छ । यसैले साझा मुद्दाका रुपमा स्थापित गर्न यो निर्णयमा पुगेका हौं ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहसहित जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो ।
यसैबीचमा भुगर्भविद् डा. टंकराज ओझाको सहजीकरणमा जलाधार संरक्षण तथा पर्यावरण सम्बन्धि कार्यशाला गोष्ठी पनि सञ्चालित भएको थियो । भूगर्वविद् ओझा आदर्श गाउँपालिका जन्म भई हाल अमेरिकाको एरिजोना विश्वविद्यालयमा भू–विज्ञान विभागमा अध्यापन गराउँदैआएका छन् । ओझा बेला बेला नेपाल आएर अध्ययन अनुसन्धान कार्यमा पनि सक्रिय छन् ।