April 18, 2026, Saturday
२०८३ बैशाख ५

साक्षर पालिका घोषणा भयो डोटीको बोगटान फुड्सिल गाउँपालिका

डोटी । बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमकाबीच साक्षर पालिका घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई पालिकालाई साक्षर घोषणा गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए। बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ।

त्यसैगरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको बोगटान फुड्सिल गाउँपालिकाले जनाएको छ।