लिखित सहमतिनजिक कांग्रेस-माओवादी, राष्ट्रपतिमा कांग्रेसलाई सघाउन दाहाल तयार

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार लिखित सहमति गर्ने तयारी छ ।
बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पहिले राष्ट्रपतिका विषयमा सम्झौता गर्ने र पछि सत्ता सहकार्यसमेत गर्ने समझदारी भएको छ,’ ती नेताले भने ।
बालुवाटार वार्ताबाट कांग्रेस र माओवादी सहमतिनजिक पुगेलगत्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने बताए । ‘उम्मेदवार उठाउँछौं । अझै दुई दिन बाँकी छ । यसबीचमा घनीभूत वार्ता होला,’ उनले कान्तिपुरसित भने । राष्ट्रपतिमा कांग्रेस र माओवादीबीच सहमति भए गठबन्धनबारे पार्टीले आवश्यक निर्णय लिने पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
उपमहासचिव विष्णु रिमालले पनि पदाधिकारी बैठकबाट निर्णय गरेर शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने बताए । ‘तर, माओवादीसँग पुस १० मा भएको सहमति कार्यान्वयनका लागि निर्वाचनको दिनसम्म कुर्छौं,’ उनले भने ।
राष्ट्रपति निर्वाचित गराउन कांग्रेस र माओवादीको मात्र मतभार पर्याप्त छैन । त्यसैले राष्ट्रपतिमा दाबी गरिरहेको एकीकृत समाजवादीलाई मनाउन दुवै दलले कसरत गरिरहेका छन् । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले माओवादीले कांग्रेसलाई समर्थन गरेको अवस्थामा आफूहरूले पनि सघाउने संकेत गरे । ‘माओवादीले कांग्रेसलाई समर्थन गर्यो भने हामीले उम्मेदवार किन उठाउने ?’ उनले भने ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल नै राष्ट्रपतिका आकांक्षी हुन् । एमालेबाट राष्ट्रपतिमा सुनिश्चित नदेखिएपछि अध्यक्ष केपी शर्मा ओलीले नै नेता नेपाललाई अघि सर्न प्रस्ताव राखेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेपाललाई एक वर्ष भए पनि सरकारको नेतृत्व दिने गरी मनाउन खोजिरहेका छन् । यो विषयमा बिहीबार नेता नेपालसँग वार्ता गर्ने तयारी छ । गत पुस १० मा तत्कालीन पाँचदलीय गठबन्धन टुट्नुअघि पनि देउवा नेता नेपाललाई एक वर्ष भए पनि प्रधानमन्त्री दिनुपर्छ भन्ने भावप्रति सकारात्मक थिए । पार्टी नै विभाजन गर्ने जोखिम लिएर आफूलाई प्रधानमन्त्री बनाएकाले देउवा पाँचदलीय गठबन्धन बनेदेखि नै नेपालप्रति सकारात्मक थिए । सरकारको नेतृत्व गरेका बखत पनि देउवाले नेपालका चासोलाई सम्बोधन गर्थे ।
संसद्का दुई ठूला दल कांग्रेस र एमाले राष्ट्रपति आफ्नो पक्षमा पार्ने अन्तिम कोशिसमा छन् । बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । अपराह्न ५ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपाल नेताहरूसहितका देउवा निवास धुम्बाराही पुगेका थिए । त्यसको साढे एक घण्टापछि कांग्रेस सभापति देउवा दाहाललाई भेट्न बालुवाटार पुगे । यही वार्ताले माओवादी कांग्रेसबीच अनौपचारिक समझदारी बनाएको हो ।
पाँचदलीय गठबन्धन छाडेर माओवादी अध्यक्ष प्रधानमन्त्री बने पनि कांग्रेसले राष्ट्रपति आफ्नो पोल्टामा पार्न विश्वासको मत दिएको थियो । कांग्रेससहितका अधिकांश प्रतिपक्षी दलबाट विश्वासको मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका प्रधानमन्त्री दाहाल त्यसको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेका छन् । उनले निकटस्थसँग अब ‘अधिकतम सहमति’ अर्थात् बहुमतबाट राष्ट्रपति चयन हुने बताउन थालेको एक नेताले बताए ।
राष्ट्रपति लिन कांग्रेस र एमालेबीच मुख्य रस्साकसी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको ‘इन्ट्री’ भएपछि राजनीति थप तरंगित बनेको थियो । माओवादी कांग्रेसतिर ढल्किँदा प्रदेश र संघको सत्तासमेत गुम्ने खतरा देखेपछि एमाले अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तत्कालीन नेकपाभित्रको शक्ति संघर्ष र पार्टी विभाजनपछि एकअर्कालाई दुश्मनकै शैलीमा व्यवहार गर्दै आएका ओली र नेपालबीच राष्ट्रपति निर्वाचनलाई नै लिएर गत शनिबार करिब चार घण्टा भेटवार्ता भएको थियो । एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा भएको वार्तालापमा ओलीले पार्टी समाहित गरेर राष्ट्रपतिमा उम्मेदवार बन्न नेपालसँग प्रस्ताव राखेका थिए । ओलीले नेपाललाई अघि सार्न प्रधानमन्त्री दाहालसँग बुधबार औपचारिक प्रस्ताव राखेका थिए ।
ओली र नेपालबीच राष्ट्रपतिको विषय मात्रै नभएर पार्टी एकीकरणका विषयमा समेत छलफल भएकाले कांग्रेस र माओवादी सशंकित बनेका थिए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासमा लिन र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मनाउन बुधबार छलफल गरेका थिए । राष्ट्रपतिमा नेपाललाई समर्थन गर्ने सम्भावना कम भएकाले सत्तामा संलग्न गराउने नीति प्रधानमन्त्री दाहालले लिएको माओवादीका एक नेताले बताए । ‘माधव नेपाल राष्ट्रपति हुनुभएन भने कुनै न कुनै रूपमा पावर सेयरिङमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।
एमाले अध्यक्ष ओली जसरी पनि कांग्रेसलाई राष्ट्रपतिमा रोक्ने प्रयासमा रहेको कांग्रेसका एक नेताले बताए । ‘आफ्नो पार्टीभित्र नहुने भएपछि नै उहाँले नेपालजीलाई अघि सार्नुभएको हो । नेपालजी तयार हुनुभएन भने लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि समर्थन गर्न सक्नुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘नेपालजीलाई अघि सार्नुका पछि पार्टी एकीकरणको स्वार्थ पनि छ । पार्टी एकीकरण भयो भने ठूलो दलको नेता हुन सकिने र सत्ताको छिर्के दाउमा कुनै पनि बेला प्रधानमन्त्री बन्न सकिने आस हुन सक्छ ।’
ओलीले औपचारिक रूपमै प्रस्ताव गरेका बेला नेपाललाई राष्ट्रपतिमा समर्थन गर्दा १० सिट रहेको एकीकृत समाजवादी एमालेमा समाहित हुने बुझाइ कांग्रेस नेताहरूमा छ । तर, अहिलेको संसद्मा सत्ता समीकरणका लागि १० सिट रहेको दलको पनि विशेष भूमिका हुने भएकाले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा एकीकृत समाजवादीलाई एमालेको कित्तामा पुर्याउनु हुन्न भन्नेमा देखिन्छन् ।
एकीकृत समाजवादीले राष्ट्रपतिका विषयमा सबै पार्टीसँग छलफल गर्ने निर्णय लिएलगत्तै बुधबार अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवासमा पुगेका थिए । त्यहाँ उनले एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई नमान्ने भएपछि आफूलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन देउवासँग आग्रह गरेको स्रोतले बतायो । देउवाले ‘तपाईं राष्ट्रपतिमा गएपछि पार्टी नै सकिन्छ, किन जानुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । ‘आजको छलफलमा कुनै निष्कर्ष निकालिएको छैन, राष्ट्रपतिको अडानबाट पछि हट्ने संकेत नदेखाए नेपाललाई अन्तिम कार्यकाल सरकारकै नेतृत्व दिने समझदारी गरेर मिलाउने पक्षमा कांग्रेस र माओवादी छन्,’ बैठकपछि कांग्रेसका एक नेताले भने, ‘माधव नेपाललाई राष्ट्रपति बनाउने र एकीकृत समाजवादीका सांसद आफ्नो पार्टीमा समाहित गर्ने ओलीको योजनामा कांग्रेस किन सहयोगी भइदिने भन्ने प्रश्न पनि छ । यो दुई–चार दिनमा ओलीले जस्तो कार्ड पनि फाल्न सक्छन् । त्यसमा होसियार हुन जरुरी छ भन्ने कुरा पनि भयो ।’
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रमुख दलको स्विकार्य हुने व्यक्ति राष्ट्रपति भएपछि मात्र राजनीतिक स्थायित्व हुने भएकाले पार्टीका तर्फबाट पहल गरिएको बताए । ‘राष्ट्रपति उम्मेदवारबारे छलफल गर्दा स्वाभाविक रूपमा हाम्रो दाबी हुन्छ,’ उनले भने, ‘अहिले नै कुनै दलसँग समझदारी भएको भन्ने होइन । सचिवालय बैठकले सबैसँग छलफल गर्ने निर्णय भएअनुसार कांग्रेससँग छलफल गरेका हौं ।’
कांग्रेसले बैठक बोलाएर निर्णय गर्ने
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्न बिहीबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक गर्ने भएको छ । कांग्रेस सभापति देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउन चाहेका छन् । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि दाबी कायमै छ । सिटौलाले कांग्रेसभित्रबाट भन्दा पनि प्रधानमन्त्री दाहालबाट आफ्नो नाम अघि सार्ने प्रयत्न गरिरहेको कांग्रेस नेताहरू बताउँछन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कसैको नाम नलिई कांग्रेसलाई उम्मेदवार तय गर्न आग्रह गरेका छन् । ‘एमालेको करिब निर्णयजस्तै भइसकेकाले कांग्रेसले पनि उम्मेदवार अघि सारे दुवै दलसँग बैठक गर्ने प्रधानमन्त्रीको मनसाय हो,’ स्रोतले भन्यो, ‘प्रयास गर्दा राष्ट्रिय सहमति भए राम्रो, नभए पनि अधिकतम सहमतिका आधारमा अघि बढ्नुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ।’
कांग्रेसका अर्का एक नेताका अनुसार प्रधानमन्त्री दाहालको भित्री आशय राष्ट्रपतिको उम्मेदवारमा देउवा आफैं अघि सरे हुन्थ्यो भन्नेमा छ । ‘देउवा अघि सर्दा सरकारमा पनि कुनै कचपच नहुने र माधव नेपाल पनि मान्न सक्ने प्रचण्डजीको स्वार्थ होला । कांग्रेसभित्रै पनि एक थरीलाई देउवा आफैं अघि सरे पार्टीभित्र समस्या नहुने र अरूको तुलनामा चुनाव जित्न पनि देउवालाई सहज हुने बुझाइ छ,’ ती नेताले भने, ‘तर, उहाँले पौडेलजी नै उम्मेदवार हो भनेर दुई महिनादेखि भन्दै आएकाले नैतिक बन्धनमा परिसक्नुभएको छ ।’
कांग्रेस नेता रमेश लेखकले सभापति देउवा नै उम्मेदवार हुने विषयमा आफूलाई विश्वास नभएको बताए । कार्यकारी प्रमुख भइसकेको नेता आलंकारिक पदमा जान नहुने तर्क उनको छ । कार्यकारी प्रमुख भएको व्यक्तिलाई अघि सार्दा कार्यकारी राष्ट्रपतिको अभ्यासतिर मुलुक जान सक्ने खतरा रहेको पनि उनले बताए । ‘भारतमा पनि यस्तो अभ्यास छैन । हामी यस्तो अभ्यासमा जान हुन्न,’ उनले भने, ‘कार्यकारी प्रमुखले राष्ट्रपति ताक्नु सैद्धान्तिक रूपमा गलत छ ।’ कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्