बाजुरामा काँग्रेसका बद्री पाण्डे विजयी

बाजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५४३७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन ।
कांग्रेसका उम्मेदवार पाण्डे आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।
बाजुरामा कुल मतदाता ८३५६७ मध्ये प्रतिनिधी सभा तर्फ ६०१५२ मत खसेको थियो। भने प्रदेश(क) मा २०९९४ र प्रदेश (ख) मा ३९१५८ मत खसेको थियो।
शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन्। भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन्। समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।
शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।
बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवा गुमाउनु परेको विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएपनि ढिलो गरि सुरु भएको थियो। नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ स्थानमा बुथ कब्जा गरेको आरोप सहित पुन मतदानको मागकाे उजुरी दिएका थिए।
प्रतिनिधि सभा सदस्यमा पाण्डे नेपाली काँग्रेसका सहमहामन्त्री हुन् भने थापा नेकपा एमाले स्थायी कमिटी सदस्य हुन्। पार्टी राजनीतिमा दुवै जना शिर्ष तहका नेता हुन्। यो चुनावलाई रोचक र कडा प्रतिस्पर्धाका रुपमा हेरिएको थियो। गठबन्धनको बलियो सहकार्य र बुथहरुमा बलियो प्रभाव राखेर काँग्रेसका उम्मेदवार पाण्डे विजयी भएका छन्।
थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन्। २०५६, २०६४ र २०७९ मा हार बेहोरेका थापाले २०७० को चुनावमा भने जित हात पारेका थिए। थापा पहिलो पटक संसदमा छिर्दा नै मन्त्री हुने अवसर समेत पाएका थिए। पाण्डेलाई पनि बाजुराले मन्त्री भएको हेर्ने पर्खाइ गरेको छ।
नेपाली काँग्रेस र नेकपा एमालेले बाजुराका सबै संसदीय चुनावमा बराबरी जित निकालेका छन्। २०४८, २०५६, २०६४ र २०७९ मा नेपाली काँग्रेसले जितेको छ। भने २०५१, २०७० र २०७४ मा नेकपा एमालेले जितेको छ। स्थानीय तह निर्वाचन २०७४ मा ६ पालिका सहीत समन्वय काँग्रेसको पक्षमा हुँदा नेकपा एमाले वाम गठबन्धनले चुनाव जितेको थियो। भने २०७९ मा ६ पालिका र समन्वय एमालेको पक्षमा हुँदा लोकतान्त्रीक वाम गठबन्धनले चुनाव जितेको छ।
बहुदल प्राप्तीका लागि विद्यार्थी राजनीतिबाट योगदान पुर्याएका पाण्डेले नेविसंघमा लामो समय राजनीति गरेका थिए। बालमिकी क्याम्पसबाट राजनीति गरेका पाण्डेले काँग्रेसको महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए। प्रष्टवक्ता र प्रभावी व्यक्तित्वका कारण काँग्रेसको राजनीतिमा स्थापित पाण्डे पार्टी राजनीतिमा बलियो प्रभाव राख्ने नेताको रुपमा हेरिएको छ।





प्रतिकृया दिनुहोस्