April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा घटना : गृह मन्त्रालयको ५ सदस्यीय टोली अनुसन्धानका लागि घटनास्थलमा

बाजुरा । बाजुराको घटना अनुसन्धानका लागि गृह मन्त्रालयको टोली खटिएको छ । त्रिवेणी नगरपालिका–७ मा आम निर्वाचनको दिन २ जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयको टोली खटिएको हो।

मन्त्रालयका अनुसार सहसचिव प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधीवक्ता सन्तोष राम कटुवाल रहेको समिति गठन गरिएको थियो।

मंसिर ८ गते नै गठन भएको ५ सदस्यीय अनुसन्धान अधिकारीको टोली मंसिर १० गतेदेखि नै बाजुरामा खटिएको छ । समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

निर्वाचनको दिन प्रहरीको गोली लागेर स्थानीय २६ वर्षीय सन्दिप ऐडीले ज्यान गुमाएका थिए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन् ।

यस्तै मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गर्दा एमालेका कार्यकर्ता चेतन ऐडीको पनि मृत्यु भएको थियो ।अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा सोही राति उपचारका क्रममा मृत्यु भएको थियो । चेत ऐडीको ‘हत्या’ आरोपमा आफन्तले २२ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए ।

हालसम्म प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता कार्कीका अनुसार मृतक दुवै जनाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।