April 18, 2026, Saturday
२०८३ बैशाख ५

दुई महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग अझै सञ्चालनमा आएन

बाजुरा : बाजुराको साँफे–मार्तडी राजमार्ग अझै सञ्चालनमा आएको छैन । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै भएको साँफे–मार्तडी राजमार्ग सञ्चालनमा आउन नसकेको हो ।

असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने अम्कोट सडक दुई महिनासम्म सञ्चालन नभएपछि स्थानीयवासीले आवतजावतमा निकै सास्ती खेप्नुपरी रहेको छ ।

दुई महिनादेखि सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनुपरेको जिल्ला सदरमुकाम मार्तडी गैरी बजारका होटल व्यवसायी प्रेम बुढाले बताए ।

“गाडी मार्तडीमा सम्म नपुग्दा नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य सामग्री सस्तो मूल्यमा पुग्थ्यो, अहिले गाडी बल्देमै रोकिन थालेपछि ती सामग्रीको निकै चर्को मूल्य पर्ने गरेको छ ।” व्यवसायी बुढाले भने ।

अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सडक डिभिजन कार्यालय साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु भइरहेको भए पनि वर्षा नरोकिएकाले स्काभेटरलाई पनि सडकको पहिरो पन्छाउन निकै समस्या भएको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सडक सञ्चालन गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षाका कारण सडकको तल र माथि दुवैतिरबाट पहिरो झर्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको बताएका छन्।

सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले पहिरोले अवरुद्ध बनेको सडकलाई डोजरले गत असारदेखि नै हटाउन थालेको भए पनि लगातार पानी पर्दै गएका कारण फेरि सडक सञ्चालन गर्न अझै समय लाग्ने बताए ।