एसईईको नतिजा सार्वजनिक : कोभिडको असरले खस्कियो नतिजा, कर्णालीमा कमजोर मधेसमा सुध्रियो

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थीको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए।
एसईईमा २२ हजार ६ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए। ०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।
यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्। पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ,’ उनले पत्रकारहरूसँग भने, ‘९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ। उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन।’
कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।
यो वर्ष देशभरका ११ हजार ६ सय १५ विद्यालयका चार लाख ९५ हजार सात सय ५१ जना विद्यार्थीले २७ सय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिएका थिए। त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका थिए।
कोभिडको असरले खस्कियो एसईई नतिजा
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४।५७ प्रतिशत हो। परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ छ।
कोभिड-१९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा दिएका हुन्। कोरोना महामारीका कारण २०७६ र २०७७ सालको एसईई विद्यालयले पठाएको अंककै आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो। विज्ञले अहिलेको नतिजा केही खस्केको भए पनि सन्तोषजनक रहेको बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा केही माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको भए पनि नतिजामा सन्तोष नै मान्नुपर्ने बताएका छन्। ‘‘परीक्षा बोर्डले लिएको २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ। तर, अहिलेको परीक्षा खस्कियो नै भन्ने अवस्था भने छैन’’, उनले भने।
कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा असर परेकाले माथिल्लो तहको भन्दा तल्लो तहको जीपीए ल्याउनेको संख्या बढी भएको हुनसक्ने उनको भनाइ छ। ‘‘समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु, नियमित कक्षा सञ्चालन नहुनुजस्ता कुराले नतिजा केही खस्केको छ। पाठ्यपुस्तकको उपलब्धता, नियमित पढाइ, परीक्षा र कक्षाकोठाको संरचनामा ध्यान दिन सकियो भने अझ राम्रो नतिज आउँछ,’’ उनले भने।
कर्णालीमा कमजोर, मधेसमा सुध्रियो र सबैभन्दा राम्रो नतिजा वाग्मतीमा
एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ ।
४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी सहभागी एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेको छ ।
९ हजार ६ सय ३३ जना विद्यार्थीले उक्त जीपीए प्राप्त गरेकोमा ४७.७७ प्रतिशत वाग्मती प्रदेशका छन् । तुलनात्मक रुपमा सबैभन्दा बढी विद्यार्थी पनि यहि प्रदेशमा थिए । सबैभन्दा कम उच्च जीपीए प्राप्त गर्नेमा भने कर्णाली सबैभन्दा पछाडी र त्यसपछि सुदुरपश्चिम रहेको छ । कर्णालीमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे ७ प्रतिशत मात्रै रहेको छ ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा नतिजा सन्तोषजनक रहेको जनाए । मधेस प्रदेशबाट उच्च जीपीए (३.६–४) प्राप्त गर्ने विद्यार्थीको संख्या पनि १५ प्रतिशत नै रहेको छ ।
उच्च जीपीएतर्फ गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र प्रदेश १ भन्दा पनि मधेस प्रदेश अगाडी देखिन्छ । उच्च जीपीए ल्याउने विद्यार्थी प्रदेश १ बाट १२ प्रतिशत, गण्डकीबाट ८ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत र कर्णालीबाट १.१८ प्रतिशत र सुदुरपश्चिमबाट २ प्रतिशत मात्रै रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी भन्दा मधेसमा विद्यार्थी संख्या पनि धेरै छ । कुल विद्यार्थी मध्ये प्रदेश १ ले १७ प्रतिशत, वाग्मतीमा २१ प्रतिशत, गण्डकीमा ९ प्रतिशत, लुम्बिनीबाट १७ प्रतिशत, कर्णालीमा साढे ७ प्रतिशत र सुदूरपश्चिमबाट ११ प्रतिशत विद्यार्थी थिए ।






प्रतिकृया दिनुहोस्