बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

बाजुरा : बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर नयाँ जनप्रतिनिधि चुन्न आज मतदान गरिएको हो।
देशभरका ७५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बुढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि पुनः निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिएका हुन ।
आज मतदान भैरहेको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १२ हजार ६५९ मतदाता रहेका छन् । १० वटा बुथमा १९ वटा मतदान केन्द्र छन् । मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए।
बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।
निर्वाचन अधिकृत घिमिरेका अनुसार पुनः हुने निर्वाचनका लागि शान्तिपूर्णरूपमा सम्पन्न गर्न आवश्यकता अनुसार सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् । निर्वाचन गराउन ९५ कर्मचारी खटिएका छन् ।

मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायत केन्द्रीय स्तरका नेताहरूले साझा प्रतिबद्धता गराई सकेको बताएका छन् । प्रतिबद्धता पत्रमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत नेताहरुले हस्ताक्षर गरेका छन् ।
विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । गाउँगाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्रको पहिलो घरेमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिएको छ ।
निर्वाचनकै लागि तीन दिनसम्म बुढीगंगा नगरपालिकाले बिदा दिएइएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगा नगरपालिकामा धाँधली भएका भन्दै मतदान स्थगित भएको थियो । निर्वाचनमा सर्वसाधारणले मतदान गर्न नपाएको भन्दै पुनः निर्वाचन गरिपाऊँ भन्दै पुनरावेदन अदालत दिपायलमा र निर्वाचन आयोगमा रिट निवेदन पेरपछि बुढीगंगामा आज पुन मतदान भैरहेको छ ।





प्रतिकृया दिनुहोस्