April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

डोटी : जिल्ला डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।

कोरोना महामारीको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो । संघीय सरकारले प्लान्ट जडानमा ८० लाख बजेट विनियोजन गरेकोमा टेन्डर प्रक्रियाबाट ३२ लाखमा सदर भएको थियो ।

अक्सिजन प्लान्ट जडान भएपछि बिरामीको उपचारमा सहज हुनुका साथै महामारी तथा प्रकोपहरूमा जुध्न सहज हुने डोटी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन श्रेष्ठले बताए । ‘बिरामीहरूको बेडसम्म अक्सिजन जडान हुने हुँदा उपचारमा सहज हुन्छ,’ डा. श्रेष्ठले भने, ‘हाल जडान भएको प्लान्टको दैनिक १० सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमता छ ।’

अक्सिजन प्लान्ट उद्घाटनमा राज्यमन्त्री रैकाले अस्पतालको गुणस्तरीय सेवा वृद्धिका लागि प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको बताए । ‘डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडानले सेवा प्रभावकारी हुने विश्वास छ,’ राज्यमन्त्री रैकाले भने, ‘प्रदेश सरकारले एम्बुलेन्स र शव बाहन यसै आर्थिक वर्षभित्र उपलब्ध गराउने समेत निर्णय गरिसकेको छ ।’

प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिरहेकै बेला प्रदेश सामाजिक विकास राज्यमन्त्री रैकाले सर्वसाधारणको गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७९र०८० को बजेट आउने बताए ।

प्रदेश सरकारले उत्पादनसँग जोड्ने र प्रत्यक्ष रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको मन्त्री रैका बताउँछन् । उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको बताए ।