April 18, 2026, Saturday
२०८३ बैशाख ५

मृत भेटिएका अछामका विनोद शाही घटनाको अनुसन्धानका लागि कुकुरसहित सीआईबीको टोली परिचालन

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा मृत भेटिए १५ वर्षीय किशोर विनोद शाहीको घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको बताएका हुन ।

उनकाअनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आइतबारबाट काम थाल्नेछ । उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) का सदस्यहरु समेत छन् ।

जेठ १७ गतेदेखि बेपत्ता भएका १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही घर नजिकैको भिरमा शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेलापरेका थिए ।

शाहीको हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए।

‘प्रदर्शनकारीले प्रहरीलाई घटना स्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले। हिजो बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ,’ उनले भने।  

प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो। जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो।

मृतक एमाले निकटका युवा रहेको जनाइएको छ। ‘एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ। चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ,’ उनले भने।