April 18, 2026, Saturday
२०८३ बैशाख ५

मेयर शाहको राजनीतिक भेटघाट तीब्र, देउवा र ओलीपछि प्रचण्ड भेट्न खुमलटारमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शीर्ष नेतासँग भेट तीब्र पारेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका साहले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन्।

बालेन्द्रले शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले छलफल गरेका छन्। भेटमा बालेन्द्रले प्रचण्डलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले बालेनलाई स्वतन्त्रबाट जितेर पनि सबैलाई मिलाएर सहकार्य गर्ने काम गरेको भन्दै आफूले पनि साथ दिने बताए। ‘पहिलेका मेयरहरू स्वतन्त्रबाट जितेपनि पार्टीलाई गाली गर्ने प्रणाली थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सह्रानिय छ हाम्रो साथ र सहयोग हुने छ।’प्रचण्डको भनाई उल्लेख गर्दै भेटमा सहभागी एक सदस्यले भने। 

स्वतन्त्रबाट उम्मेदवार दिएपछि लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका उनले सत्ता गठबन्धनलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए। उनले महानगरमा परिवर्तन ल्याउन विभिन्न पक्षसँग सहकार्यको पहल थालिएको स्पष्ट पारेका छन्। मेयर शाहले सपथग्रहण गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। आफू विजयी हुने निश्चित भएपछि मतगणनाको औपचारिक घोषणा अगाडि नै ओलीसँग भेटेका शाहले बुधबार प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर भेट गरेका थिए।

मेयर शाहले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि धेरैभन्दा धेरै व्यक्तिसँग भेट गरेर छलफल गर्ने, सुझाव समेट्ने र सहकार्यका लागि पहल गरिरहेको बताउँदै आएका छन्।‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ,’ उनले भनेका छन्, ‘समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।’ अन्नपुर्णबाट