स्थानिय तह निर्वाचन : बूढीगंगा नगरपालिकामा चुनावको मिति अझै अनिश्चित

बाजुरा : बाजुराको बूढीगंगा नगरपालिकामा चुनावको मिति नतोकिदा अनिश्चित बनेको छ । वैशाख ३० गते स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछी स्थगित भएको थियो ।
नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ।
यसै बिच निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोपमा बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।
गृह मन्त्रालयले चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको हो। मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।
सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ। उनीहरूले आइतबारदेखि कार्यभार सम्हालेका छन्।
निर्वाचन आयोगले सिडिओसहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुन: निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको थियो। निर्वाचन आयोगले समेत नयाँ निर्वाचन अधिकृत पठाएको छ। पुष्पराज पाण्डे निर्वाचन अधिकृत तोकिएका छन्।
मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षासम्बन्धी सबै तयारी गरिसकिएको जानकारी दिएका छन्।
‘सुरक्षाका हिसाबले हामी तयारीमै छौं,’ अधिकारीले भने, ‘चुनावको मिति तोक्ने काम निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आयोगको समन्वयमा गर्छ।’ चुनावको मिति घोषणा भइनसकेको उनले बताए।
पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए।
‘अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिनेकोु जानकारीसहित उनले आयोगलाई पत्र पठाएका थिए।
बूढीगंगा नगरपालिकामा कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए।





प्रतिकृया दिनुहोस्