बझाङमा पनि सत्ता गठबन्धनले टुंगो लगायो : कांग्रेस ७, एकीकृत समाजवादी ३ र माओवादीलाई २ पालिका

बझाङ : सत्तारुढ दलहरुले बझाङमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेको छ । गठबन्धनको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेको हो ।
१२ वटा पालिका रहेको बझाङमा तीन दलले आज दिउँसो भागबण्डा मिलाएका हुन् । बझाङमा ७ पालिका प्रमुख नेपाली कांग्रेस, ३ वटा पालिका प्रमुख नेकपा एकीकृत समाजवादी र २ वटा पालिका प्रमुख नेकपा माओवादी केन्द्रले पाउने गरी टुंगो लगाइएको छ ।
नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीका अनुसार कांग्रेसले ६, माओवादीले ४ र समाजवादीले २ पालिकामा उपप्रमुख पाउने सहमति भएको छ । जयपृथ्वी र बुङगल नगरपालिका तथा मष्टा, खप्तडछान्ना, वित्थडचिर गाउँपालिकाको प्रमुख कांग्रेसको भागमा परेको छ ।
यस्तै सुर्मा र साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले उम्मेदवार उठाउने छ । एकीकृत समाजवादीले तलकोट, केदारस्युँ र थलारामा अध्यक्ष पाउने सहमति भएको छ ।
माओवादीको भागमा छविसपाथीभेरा र दुर्गाथली गाउँपालिका परेको छ । यसअघि समाजवादीले छविपाथीभेरा नछोड्ने अडान लिएका कारण सहमति जुट्न ढिलाई भएको थियो । यो पालिकाको सट्टामा माओवादीलाई भन्दा एक पालिका बढी समाजवादीलाई दिएर सहमति कायम गरिएको हो ।
कांग्रेसले तल्कोट, दुर्गाथली, थलारा, केदारस्यूँ गाउँपालिकामा पनि उपाध्यक्ष पाउने निर्णय गरिएको छ । यस्तै अरु पालिकाको उपप्रमुखमा माओवादी केन्द्रलाई जयपृथ्वी नगरपालिका, मष्टा, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा र समाजवादीलाई बुङगल नगरपालिका र छविसपाथीभेरा गाउँपालिका दिने सहमति भएको माओवादी केन्द्रका संयोजक टोपबहादुर खड्काले बताएका छन् ।
जिल्लामा रहेका ९४ वटा वडामध्ये कांग्रेसले जितेका २६ कांग्रेसलाई, माओवादीले जितेका ९ माओवादीलाई र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका ६ वटा समाजवादीलाई दिने निर्णय गरिएको उनले बताए ।
नेकपा एमालेले जितेका ४३ वडामा ५० प्रतिशत कांग्रेसलाई र बाँकी रहेका वडा माओवादी र समाजवादीलाई आधाआधा दिने सहमति गरिएको छ ।
दार्चुलामा काँग्रेस र माओवादीबिच गठबन्धन
दार्चुलामा स्थानीय चुनावका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच सहमति भएको छ । नौ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच स्थानीय तहमा नेपाली काँग्रेस र चार पालिकामा माओवादी केन्द्रले प्रमुख तथा अध्यक्ष पद पाउने सहमति भएको हो ।
दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका प्रमुख र तीन गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाउनेछ । बाँकी चार गाउँपालिकामा माओवादीले अध्यक्ष पदमा उम्मेदवार उठाउने सहमति भएको छ ।
काँग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ, सचिव पन्तले भन्नुभयो, माओवादीले मार्मा, अपीहिमाल, नौगाड र लेकम गाउँपालिकामा अध्यक्ष पाउनेछ ।
६१ वडामध्ये ४४ वडामा काँग्रेस र १७ वडामा माओवादीले अध्यक्ष पाउने सहमति भएको बताइएको छ । यस्तै मालिकार्जुन र व्यास गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष पाउँदा बाँकी सात स्थानीय तहमा काँग्रेसले उपाध्यक्ष तथा उपप्रमुख पदमा उम्मेदवारी दिने सहमति जुटेको नेताहरूले बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) लाई आवश्यकताका आधारमा वडा सदस्य दिने तय भएको माओवादी केन्द्रका जिल्ला सचिव प्रेमराज पन्तले बताए ।





प्रतिकृया दिनुहोस्