April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेसले स्थानीय निर्वाचन अगाडि नै हुम्लामा खाता खोल्यो, वडा अध्यक्षमा पुन: तामाङ चयन

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचन अगाडि नै हुम्लामा खाता खोलेको छ । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् ।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) का अनुसार जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् । वडा अध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । ‘गाउँलेहरुको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ,’ गाउँपालिका अध्यक्ष लामाले भने । उनका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।

अब आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुने गाउँपालिका अध्यक्ष लामाले बताए ।