October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

कैलालीमा आज राति १२ बजेदेखि नयाँ आदेश जारी, के गर्न पाइने, के नपाईने ?

धनगढी : कैलालीमा आज राति १२ बजेदेखि नयाँ आदेश जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन आज राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी गरिएको हो ।

बिहीबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)ले गरेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

सूचना अधिकारी जोशीका अनुसार जिल्लामा व्यवसाय सञ्चालनका लागि पनि मापदण्ड तोकिएको छ। होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस–सिल्ड र पन्जा लगाउने, सेवाग्राहीलाई पनि मास्क अनिवार्य गर्ने, कुल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको व्यवस्था हुनुपर्ने, ७ गतेपछि होटल तथा रेष्टुरेन्टमा प्रवेश गर्दा खोपकार्ड अनिवार्य गर्ने, होटलमा चेक–इन गरेको २४ घण्टाभित्र सेवाग्राहीको एन्टिजेन गर्नुपर्ने भएको छ। राष्ट्रिय राजमार्गमा रहेका होटल सञ्चालन गर्दा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने छ।

यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टार, सुपर मार्केट वा अन्य प्रकारका पसल सञ्चालन गर्दा २५ जनाभन्दा बढीको भिड नगराउने, पार्टी प्यालेसमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित गराउने पनि निर्णय भएको छ। यस्तै विवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्दा बढीमा ५० जना मात्रै सहभागी गराउने पाइने भएको छ। खेलकुद प्रतियोगिता गर्दा क्षमताको एक तिहाई मात्र दशक राख्न पाइने छ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेश अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोप कार्ड अनिवार्य लगायतका २४ बुँदे आदेश जारी गरिएको हो ।