April 24, 2026, Friday
२०८३ बैशाख ११

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिम प्रदेशमा पनि गरे कानुन व्यवसायीले प्रदर्शन

धनगढी, कात्तिक २८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सुदूरपश्चिम प्रदेशमा पनि कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना दिएका छन् ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष सिद्धराज ओझाले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताएका छन् ।

यस्तै डोटी जिल्ला अदालत बार एशोसिएसन र दिपायल उच्च अदालत बार एशोसिएसनले पनि एक घण्टा धर्ना दिएको जिल्ला बार एशोसिएशनका अध्यक्ष गोबिन्द जोशीले बताएका छन् ।

जोशीले नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रम अन्तरगत अगामी कात्तिक ३० गतेसम्म दैनिक एक/एक घण्टा धर्ना दिने पनि बताए ।