April 24, 2026, Friday
२०८३ बैशाख ११

डोटीमा बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत वितरण

डोटी कार्तिक १६(ई-रैवार)
यसपटकको बाढी–पहिरोबाट डोटीमा मृत्यु भएकाहरुका परिवारलाई नेपाल सरकारका तर्फबाट राहत रकम वितरण शुरु गरिएको छ । नेपाल सरकारका तर्फबाट आएको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण शुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबारसम्म आठजना मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले सकेसम्म मृतकका घरमै पुगेर राहत रकम हस्तान्तरण गर्ने काम भईरहेको बताए ।
उनका अनुसार मंगलबार सायल गाउँपालिका–१ रोकायागाउँका मृतक वीरे रोकाया, सोही गाउँपालिका–४ भल्मा गाउँका मृतक जंग विष्ट, वडा नम्बर–५ डुमरीका मृतक हिरूवा लुहार, सोही वडाको भालुमेलाका मृतक देव डुम्रेलका आफन्तलाई नेपाल सरकारका तर्फबाट दुईलाख रकम हस्तान्तरण गरिएको छ ।
यस्तै सायल गाउँपालिका–६ अम्तोडामा एउटै घरका दुईजना मृतक आशषि कुन्जेडा र सागर कुन्जेडाका वुवा डिल बहादुर कुन्जेडालाई तीनलाख नगद राहत हस्तान्तरण गरिएको छ ।
उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी विष्ट, प्रहरी उपरीक्षक दान बहादुर मल्लसहितको टोलीले सायल गाउँपालिकाको मेल्लेखमा पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए ।
सो राहतसंगै नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले पिडित परिवारलाई भाँडाकुडा, कम्वल र अन्य लुगाकपडा उपलब्ध गराएको छ ।
यसअघि शिखर नगरपालिका–११ का मृतक मन्धरी वलायरका आफन्तलाई पनि घरमै गएर दुईलाख राहत रकम राहत वितरण गरिएको थियो ।
मंगलबारै बोगटान फुड्सिल गाउँपालिका–५ मा घर भत्केर मृत्यु भएकी चनरी नेपालीका पति ईन्द्र नेपालीलाई पनि दुई लाख रकम हस्तान्तरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
यसपटकको वाढी–पहिरोबाट जिल्लामा १५ जनाको मृत्यु भएको थियो भने, एकजना वेपत्ता छन् । नेपाल सरकारबाट प्राप्त मृतकहरुका लागि आएको राहत दिन बाँकी मृतकका आफन्तलाई बुधबार राहत प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए । उनले भने,‘अहिले मृतकहरुलाई नेपाल सरकारबाट प्राप्त राहत वितरण गरिरहेका छौ । अन्य पिडितका लागि बाँकी रकम र अन्य सरकारबाट आउने रकम आएपछि अथासिघ्र उपलब्ध गराउछौ ।’