April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी

काठमाडौँ, कात्तिक ४ (ई-रैवार)

गरिब देशले आवश्यकताअनुसार खोप नपाएका कारण कोभिड महामारी पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी लम्बिने विश्व स्वास्थ्य संगठनले बताएको छ । डब्लूएचओका शीर्ष नेता डा ब्रुस अयलवार्डले कोभिड सङ्कट सजिलै २०२२ सम्म लम्बिने सक्ने बताएका हुन् ।

अन्य देशमा औसत रूपमा ४० प्रतिशत जनताले खोप लगाइसकेको अवस्थामा अफ्रिकाको ५ प्रतिशत जनताले मात्र कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेका छन् ।

डा. अयलवार्डले धनी देशहरूलाई खोपको लाइनबाट हटेर औषधी निर्माता कम्पनीहरूलाई गरिब देशहरूलाई पनि खोप उपलब्ध गराउने बाटो खोल्न आग्रह गरेका छन् । धनी देशहरूलाई आफूले प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

‘हामी सही बाटोमा छैनौँ,’ उनले भने, ‘हामीले खोपको कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउनुपर्छ नत्र यो महामारी आवश्यकभन्दा एक वर्ष बढी लम्बिन सक्छ ।’ पिपल भ्याक्सिनले जारी गरेको नयाँ तथ्यांकअनुसार हालसम्म खोप निर्माता कम्पनी र धनी देशले कबुल गरेका ७ मध्ये १ डोज खोप मात्र गरिब देशमा पुगेका छन् ।

धेरै खोप धनी देशहरू पाएका छन् भने अफ्रिकामा विश्वभर दिइएको खोपको २.६ प्रतिशत खोप मात्र लगाइएको छ । बीबीसी