June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

काठमाडौँ, साउन १३ (ई–रैवार)

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गर्दै कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने छ । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।