April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ९६४ जनामा कोरोना पुष्टि, ३० जना संक्रमितको मृत्यु

धनगढी, वैशाख ३१ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ५७६ नमूना पीसीआर र ४३० नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १ हजार ५ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८७५ जना कोरोना संक्रमित भेटिएका छन् भने, ४३० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १०५४ नमूना परीक्षण गर्दा ५३४ जना, महाकाली अस्पतालमा १३३ नमूना परीक्षण गर्दा १०९ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ३९ जना, डोटी अस्पतालमा ९६ नमूना परीक्षण गर्दा ६० जना, बैतडी अस्पतालमा जनाको नमूना परीक्षण गर्दा ५२ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९३ हजार ३१४ नमूना परीक्षण गर्दा २८ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित निको भएका छन्। सुदूरपश्चिम प्रदेशभर संक्रमण पुष्टि भएका १५ हजार ८ सय ५४ जनाले कोरोना संक्रमितले जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका १२ जना, कञ्चनपुरका ८ जना, डडेल्धुरामा ३ जना, अछाम र दार्चुलाका २/२ जना, बझाङ्ग र डोटी र बाँकेका १/१ जना गरी कुल ३० जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।