April 20, 2026, Monday
२०८३ बैशाख ७

सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाए

धनगढी, वैशाख २५ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा कैलालीका ८ जना, दार्चुलाका २ जना, कञ्चनपुर, बैतडी र बझाङका १/१ जनागरी १३ जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीलका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, वडा नम्बर १ की ५० वर्षीया महिला, नम्बर ५ का ४३ वर्षीय पुरुष,नम्बर ४ का ८१ वर्षीय पुरुष, नम्बर १२ की ५० वर्षीया महिलाको ज्यान गएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए। उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र केही निजी अस्पतालमा ज्यान गएको प्रशासन कैलालीले जनाएको छ।

यस्तै दाचुर्लाका २ जना संक्रमितको पनि मृत्यु भएको छ। दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–९ की ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका डा. नियाज अन्सारीले बताए।

शुक्रबार अचानक स्वासप्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएकी उनको शरीरमा अक्सिजनको मात्रा ४५ प्रतिशत रहेको अन्सारीले बताए। मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ। उनको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एवम् वरिष्ठ कबिराज (निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
केहिदिन पहिले संक्रमण पुष्टि भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ। ४५ वर्षीय जोशी उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका थिए। भारतबाट फर्किएपछि उनीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बैतडीको पाटन नगरपालिकाको–४ का ३९ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ। जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। उनको यही वैशाख २२ गते संक्रमण पुष्टि भएका थियो ।

बझाङमा पनि केदारस्युँ–१ देउरा बस्दै आएका ७० वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो।

विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए। बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।