April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

बझाङ, असोज २२ (ई-रैवार) 

बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको हो ।

बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्ति मष्टा गाँउपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाईलाई बुधबार पक्राउ गरेकोबझाङका डीएसपी रूपक खड्काले बताए ।

बालमले गत २९ साउनमा १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटनालाई मिलापत्र गराउनका लागि कागज तयार पारेका थिए । घटना बाहिर आउन नदिन उनी सहित अन्य ६ जनाले पीडित र राजेन्द्र बोहरा पक्षबीच ३१ साउनमा मिलापत्र गराएका थिए ।

यसअघि १९ असोजमा मिलापत्र गराउन पञ्च बसेको भन्दै प्रहरीले २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरालाई पक्राउ गरेको गरिसकेको छ ।

मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो । त्यस्तै, मिलापत्र गराएको एक महिनापछि बोहराले ७ असोजमा सोही ठाँउकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेका थिए ।

अहिले उनी प्रहरी हिरासतमा छन् । सम्झना कामीमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा २९ साउनमा घटना बाहिरिएको हो । मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डीएसपी खड्काले बताए ।