April 18, 2026, Saturday
२०८३ बैशाख ५

महाकाली अस्पतालमा ४ वर्षपछि आइसीयु सञ्चालनमा

 

महेन्द्रनगर, भदौ १४ (ई-रैवार)

महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आइसियु ४ वर्ष सम्म सञ्चालनमा ल्याइएको थिएन । आईसियु सञ्चालनमा ल्याइएपछि आइसियुकै कारण रेफर भई अन्यत्र जाने बिारमीलाई भने सहज भएको छ ।

२०७२ सालमा नेपाल सरकारले महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियु हस्तान्तरण गरेको थियो । आइसियु सञ्चालनमा नआउँदा दिनहुँ जसो बिरामी रिफर भएर अन्यत्र जाने गदर्थे ।

स्थापनाकालको ५७ वर्षपछि आईसियु सञ्चालन गरेको अस्पतालले अहिले अरु सेवा सुविधा पनि विस्तार गर्दै लगेको बताईएको छ । तर अस्पतालमा अझै पनि जनशक्ति अभाव हुँदा समस्या भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताएका छन ।

व्यवस्थापन समितिका अध्यक्ष जोशीले “दरबन्दी अनुसार अस्पताललाई २९ जना डाक्टर हुनु पर्ने हो ।” जोशीले भने, अस्पतालमा अहिले दरबन्दी अनुसार २९ जना डाक्टर मध्ये २३ ओटा डाक्टर मात्रै रहेका छन । आईसियु सञ्चालन गर्ने भन्ने हाम्रो टिमको प्रतिबद्धता थियो, थोरै जनशक्तिमा पनि आइसियु सञ्चालन गरेका छौ, जोशीले भने, हुनुपर्ने जनशक्ति अहिले सम्मै अभावै अभाव छ ।

यसैगरी अस्पतालले विग्रेका र आवश्यक पर्ने नयाँ उपकरण पनि थपेको छ । बिरामीलाई माहाकाली मै सबै सेवा सुविधा होस् भनेर अस्पतालले अहिले विभिन्न किसिमका सेवालाई थप विस्तार गरेको जनाएको छ । जोशीले भने, “फार्मेसी, आईसियु थाइराइड, अल्ट्रासाउन्ड, श्याम आर मेसिन (हाडजोर्नी सम्वन्धि) सेवा लाई थप विस्तार गरिएको छ ।,

एम्वुलेन्सको सङ्ख्यालाई पनि २ बनाइएको छ, र शव वाहन पनि खरिद गरिएको छ ।” अध्यक्ष जोशीले भने, अस्पतालले विगतमा १२ घण्टा दिने सुविधालाई पनि अहिले २४ घण्टा दिने गरिएको छ ।

उपकरण थप्ने क्रम बढे पनि अस्पताललाई उपकरण सञ्चालन गर्नमा भने समस्या छ । ल्याइएको जडान गरिएको मेसिन पनि विशेषज्ञ डाक्टरको अभावले थला पर्ने स्थिती छ । अस्पतालमा अहिले बालरोग विशेषज्ञ, फिजिसियन, डिआर, इन्डोस्कपी, सिटिस्केनको समस्या छ ।

“व्यवस्थापनको पाटो विगतको भन्दा अहिले धेरै सुधार गरिएको छ ।” अध्यक्ष जोशीले भने, “व्यवस्थापन सुधार गरिए पनि आवश्यक विशेषज्ञ डाक्टरको अभाव हुँदा रेफर हुने बिरामीको सङ्ख्यामा कमी आए पनि गुणस्तर रुपले सेवा दिन समस्या भएको छ ।”

डेढ सय वेडको क्षमता बोकेको अस्पतालमा पहिलेको भन्दा अहिले बिरामीको चाप भने बढेको छ । अस्पतालमा अहिले दैनिक जसो हजार देखि दुई हजारसम्म विरामी उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ ।

यसैगरी डेढ सय वेड क्षमता बोकेको अस्पताललाई आउँदो दिनमा सय वेड थप्ने योजना रहेको अध्यक्ष जोशीले भने – साढे ५ विगाह क्षेत्रफलमा रहेको महाकाली अस्पतालमा चिकित्सको आवासका लागि पनि अस्पताल परिसरमै अत्याधुनि भवन सँगै थप एक भवन अत्याधुनिक अस्पतालको लागि पनि निर्माणको प्रक्रिया अघि वढाइएको छ ।