April 18, 2026, Saturday
२०८३ बैशाख ५

वेश्याको ‘सुसाईड नोट’

आमाबा,
जन्मायौ । नाम दियौ । थर दियौ । घर दियौं । सबथोक दियौं । पिर के हो, चिन्ता के हो ? थाहा भएन । के इज्जत र के सम्मान वास्ता थिएन । म को हुँ ? कस्तो हुनुपर्छ ? अतोपतो भएन । जिन्दगी बहार थियो । संसार निस्वार्थ र प्रफुल्ल लाग्थ्यो सानैछँदा । तर समय पर्खिएन । दिन बदलिए । कर्म फेरियो । अस्तब्यस्त भएँ । समाज बदलियो । नातागोता टाढिए । आफन्त भाडिए । गोजि खाली भयो । पेट भोको रह्यो । इज्जत भएन । सम्मान रहेन । जिन्दगी संघर्ष बन्यो । संघर्षको मैदानमा जिन्दगीको दौड प्रतियोगिता गरिरहेँ ।
कर्मशिल बन्ने प्रयत्न गरिरहेँ । जिन्दगी निरास बनाउन चाहिनँ । आसा बढाएँ । सम्मानको खोजिमा लागेँ । प्रेम चाहिन्छ । माया चाहिन्छ । साथमा एक सहयात्री चाहिन्छ । भावुक बनेँ । नभन्दै एक सहयात्री भेटाएँ कृष्ण । उसैसँग भागेँ । बिरानो शहर पुगेँ । घर गाउँठाउँको याद त आयो र पनि कृष्णको गहिरो प्रेममा डुबेँ । उसकै जवानीमा पौडिरहन मन लाग्यो । आहा प्रेम ! एक दिन त राम्रै अनुभूति भयो । तर अर्कोदिन प्रेम रहेन । कृष्ण बेपत्ता भयो । ठाउँ ठेगान लापत्ता रह्यो । अपरिचित ठाउँ । अलपत्र परेँ । मर्न भनेर बेसोस भइ भागेँ । अपरिचित दिदीको शरण पाएँ । सम्झायो । बुझायो । बाँच्ने आसा पलायो ।
कृष्णको खोजी गर्न प्रहरीमा वारेन्ट जारी गराउन भनियो । मैले उचित मानिनँ । सोचेँ, कृष्ण हराएको होइन । गएको हो । उसलाई सबै ठाउँ थाहा छ । किन खोजी गर्ने ? के को वारेन्टी जारी ? बास्तबिक तथ्याङ्क खोज्ने हो भने आजको यस स्वार्थी संसारमा सयै कृष्णहरु भेटिन्छन् होला । कति कृष्णलाई खोज्ने ? म चुपचाप लागेँ ।
कानुनको सहारा लिन मानिनँ । महिलालाई तेत्तिस प्रतिशत आरक्षणको ब्याबस्था गर्ने त्यो कानुनको के सहरा लिने ? सोचेँ, तेत्तिस प्रतिशत अधिकार दिलायो भने बाँकी सतसठ्ठी प्रतिशत अधिकार के हुने ? मेरो मनमा हुरिबतास चल्यो । फेरि यो कानुनले सम्बन्ध जोड्न जानेको छैन बरु जोडिएको सम्बन्ध, सम्बन्ध विच्छेदको नाममा कागजमा स्ट्याम्प लगाएर टुटाउन जानेको हुन्छ । कानुनको सहारा उपयुक्त लागेन ।
नेताको सहारा बिल्कुलै लिइनँ । भ्रष्ट्राचार, बलात्कार, अन्याय, अत्याचारमा फसेका नेताहरुको के भरोसा ? आफ्नो कुनै निर्णय नहुने यी नेताहरुको । केही काम गर्नुपर्दा “के गरु सल्लाहकार ज्यू ?” सल्लाहकार ज्यूको आवाज कुरेर बस्ने । सल्लाहकारले पार्टीको पहिचान खुलेपछि मात्रै ज्यानमारा भएपनि जोगाउन सल्लाह दिने । नत्र “को हो त्यो ? चिन्दैनँ त्यसलाई । त्यसलाई सहयोग गर्नु हुदैन ।” उल्टै उल्लु बनाउने । यस्ताको के सहयोग ?
कसैको बिश्वास मानिनँ । आफ्नै जन्मघर पुर्याइदिन अनुनय बिनय गरेँ । शरणकै सहारामा जन्मघर आएँ । तर जन्मघर पुग्दा, जन्मघर पराइ घर भइसकेछ । आमाबा, दाजुभाइ बिराना भइसकेछन् । मित्र शत्रु भएछन् । गाउँ समाज टाढिसकेछ । म एक्ली भइसकेकी रहेछु नितान्त एक्ली । नाम फेरिसकेको रहेछ मेरो सबैतिर “बेश्या” नाम ।
अब त बेश्याको जिन्दगी । आरोप प्रत्यारोप मेरो दैनिकी बन्यो । सयौं आरोप लाए । कयौं कुरा काटे । अनेक थरी भने । कतिले भने, “यसले संसार बुझिन, त्यसैले धोका खाई ।” मैले चित्त दुखाइनँ किनभने मैले स्वयम् आफ्नो शरीरको सबै भाग देखेकी छैन । मैले कति पटक आफूलाई ठड्याउने मेरुदण्ड हेर्न खोजेकी छु, हेर्न सकिएको छैन । मलाई थाहाछ, मेरो शरीरमा दुईसय छ वटा हाडहरु छन् । छालाले ढाकिदिदाँ आफ्नै हाड देखेकी छैने । मुटु कलेजो मेरो भित्र छ र पनि आफैभित्र रहेको मुटुकलेजो देख्न सकेकी छैन । साचिक्कै आफ्नै शरीरका अङ्गप्रयत्ङ्ग त नदेख्ने म कसरी संसार बुझ्न सक्थे र ? चित्त बुझाएकै थिएँ ।
कतिले भने, “यसको जिन्दगी मोवाइले विगार्यो ।” मैले केलाएँ । मौबाइलले कसरी मेरो जिज्दगी बिगार्न सक्थ्यो र ? मोबाइल एक निर्जीव यन्त्र होे । प्रविधि हो । मैले भनिनँ र मानिनँ पनि मोबाइले मेरो जिन्दगी बिगार्यो । मोबाइल त मेरो कुराकानी गर्ने सहयात्री भएको थियो । दुरुपयोग गरिनँ म भन्दिनँ । कमजोरी रह्यो ।
कतिले भनें, “कृष्ण फटाह रहेछ । भगाएर शहर लगी अलपत्र छोड्यो ।” म त्यो केटालाई पनि दोष दिने पक्षमा थिइनँ किनभने त्यो केटोले लगेर मलाई अलपत्र छोडेको होइन । म गएकी हुँ र पछि मात्रै छोडेको हो । फोनबाट एकहोरो कुरा भएको हैन, दोहरो कुरा भएको हो । मैले माया गरें र पो उसले माया गर्यो । जहाँ क्रिया, त्यहाँ प्रतिक्रिया । उसले घर ठेगान आफै भनेन । मैले घर ठेगान माग्न आबश्यक ठानिनँ । कमजोरी मेरै रह्यो ।
कतिले भनें, “लोग्नेको जातै बदमास । विश्वास गरेर फसी ।” यो पनि मैले भनिनँ । मेरा बा, मेरो दाइ र मेरो भाइ पनि त लोग्ने हुन् । मेरा बाले मलाई हुर्काए । बढाए । पढाए । आफू भोकै बसेर पनि मलाई चारो खुवाए । एक टालो लृुगा अनि बस्नका लागि बास जुटाए । मेरो दाइ मलाई साह्रै माया गथ्र्याे । मेरो भाइ म रुदा रुन्थ्यो । म हाँस्दा हास्थ्यो । म कसरी भनौं लोग्नेको जातै बद्मास । लोग्ने जातै बद्मास भन्न सकिनँ ।
कतिले भने—“कमजोरी आइमाईकै हुन्छ ।” मैले स्विकार गरिनँ किनकी मेरी आमा नारी हुन् । मदर टेरेसा, म्याडम क्युरी, तसलिमा नसरिन, सिरिन इवादी, रोजा लक्जेम्बर्ग, युसुफ मलाला, फ्लेरन्स नाइटिङ्गल नारी हुन् । पारिजात, झमक घिमिरे, हेलेन केलर पनि नारी हुन् । सीता, भृकुटी, द्रोपति, अहित्या, तारा सबै नारी । सृष्ठीकर्ता हुन् नारी । कसरी आइमाईको कमजोरी हुन्छ । चित्त दुखाइनँ ।
कतिले भने, “यो बेश्या हो ।” मैले आफूलाई बेश्या ठानिनँ किनभने यौवनाबस्थकी एक किशोरीमा यौनप्रति चासो हुनु कुनै नौला कुरा होइन । विपरित लिङ्ग प्रतिको आकर्षण संसारको धुव्रसत्य हो । फेरि मैले कृष्णसँग क्षण बिताउने मात्र हैन, जुनी काटेने अभिलासा राखेकी थिएँ । कृष्ण र म बीच अनुचित सम्बन्ध पनि होइन । ऊ एक दिन मात्र भएपनि लोग्ने र म स्वास्नी भएका थियौं । अर्कोकुरा भन्नेहरुले भनेजस्तो बेश्या बन्न सहज छैन । बेश्या बन्नु परस्थिति या त जीवन गुजाराको आधार खोजी गर्नु हुन सक्छ । रहर होइन । कसरी म बेश्या हुन सक्छु र ?
बिनाकारण समाजले अनेक आरोप लगाएको थियो । समाजले लगाएका आरोपहरु आफूअनुकुल अर्थयाउने ममा सासह थियो । यस्तै गर्दै गएँ । समाज जेजे भन्दै गएको थियो, एक कानले सुन्दै, अर्कोकानले उडाउदै गरेकी थिएँ । समाजका अनेक लान्छनालाई वास्ता गरेकी थिइनँ । मलाई कृष्णले छोडेर गएकोमा बिछोडको पिडामा आत्महत्या गरेकी होइन । पराइका आरोप प्रत्यारोपहरु त भुल्न सकिने रहेछन् ।
तर आमाबा, भूल्न नसकिने त आफ्नैले लाएका अरोप प्रत्यारोप रहेछन् । समाजका मान्छेहरुले लगाएका आरोप जसरी आफ्नो मनमुटुका मान्छेहरुले लगाएका आरोपहरु खण्डन गर्न नसकिने रहेछन् । आमा हजुरले भनेका शब्दहरु ‘नकचरी, बेश्या तैले बाँच्नुभन्दा मर्नु बेस । जा पासो लगा । सेतीमा हाम फालेर मर् ।’ मेरो मनमा बिझिरहे । बा हजुरले भनेका शब्दहरु ‘मेरो बदनाम गराइ नकचरी, बेश्या । यो घरबाट निस्क । पासो लगाएर मर् ।’ मेरो मनमुटु पोलिरहे । यी शब्दहरु तिखा भाला भएर मेरो छातीमा पलपल घोचिरहे । मलाई आत्मदाह गर्न वाध्य र विवश बनाए यी शब्दहरुले । मलाई थाहा छ, आमाबा तपाईँहरु मलाई औधी माया गर्नुहुन्छ । मैले जेजस्तो गरेपनि पक्कै पनि तपाईँहरु मलाई गुमाउन चाहनुहुन्न । तर मेरो आत्मस्वाभिमानले मलाई बाँच्न दिइरहेको छैन । त्यसैले तपाईँकी बेश्या छोरी आत्महत्या गर्न गइरहेकी छ । एक बेश्याको आत्महत्या पत्र लेख्दै…..।
उही छोरी