सुदूरपपिश्चम प्रदेशका विभिन्न स्थानमा गएको पहिरोमा परी १० को मृत्यु

धनगढी, भदौ ३ (ई-रैवार)
अविरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर १० जनाको मृत्यु भएको छ । मंगलबार राती देखी आएको अबिरल बर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलाको बाढीमा परेर ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रामारोशन गाउँपालिका वडा–५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ । हराएका मध्य ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको र २ जनाको शव मंगलसेन नगरपालिका– ३ स्थित लमतणा र सेरीमा भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।

मंगलबार रातीदेखी आएको भारी बर्षा संगै आएको पहिरोमा परेर बझाङमा पनि २ जनाको मत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमल भण्डारीका अनुसार जिल्लाको बुङगल नगरपालीका–५ मिडीमा गयराती गएको पहिरोमा परी ४ जना घाईते भएका छन् भने वेपत्ता भएका २ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा बुङ्गल नपा–५ का १४ बर्षे सचिन ताम्राकार र बुङ्गल–४ का दमन ओखेडा रहेको प्रजिअ भण्डारीले बताए ।
यसैगरी बाजुरामा पहिरोमा पुिरएर २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क राज भट्टराईका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ का मीन बहादुर बुढाकी ३ वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनकी ५ बर्षिया दिदी विनीता बुढा र ६५ बर्षिया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै बाजुरामै बढीगाढ र धूपे खोलामा आएको बाढीमा बगेर अर्की १ महिलाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । उनका अनुसार बाजुराको बुढीनन्दा गाउँपालिका– ६ की ७५ बर्षिया धिनु लुहारको पहिरोमा परी मृत्यु भएको छ ।





प्रतिकृया दिनुहोस्