March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

 

दार्चुला, साउन १४ (ई-रैवार)

नेपालले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रको बिषयमा भारतलाई जवाफी पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेपछि नेपालले भारतलाई जवाफी पत्र पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको भनेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । ‘भारतले पत्रमार्फत दाबी गरेको भूमि नेपालको भएकाले नेपालीलाई बाधा, अड्चन नगर्न भन्दै पत्र पठाइएको हो’। पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानी लगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले  त्यो क्षेत्र नेपालकै हो । पूराना नक्साहरु र ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा त्यो नेपाली भूमि हो । त्यहाँ नेपालीले आवगमन गर्नु स्वाभाविकै रहेको र त्यहाँ आवागमन गर्ने नेपालीलाई कुनै पनि तत्वबाट अवरोध नगर्न भनेर पत्र पठाएको वताएका छन ।

गत असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो । पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ ।

मिडियाको ध्यानाकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’ भारतको यो पत्रको जवाफमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानी लगायत क्षेत्र नेपालकै भएको स्मरण गराएको छ ।