सरकारले नेपालमा चिनियाँ सेना ल्याउन थालेको चर्चा, सरकार दिदैन प्रतिक्रिया

काठमाण्डौँ जेठ २७(ई-रैवार)
नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधीले मंगलबार आयोजित एक ‘भर्चुअल कन्फ्रेरेन्स’मा सरकारले नेपालमा चिनियाँ सेना नेपालमा ल्याउने तयारी भएको भन्दै विरोध गरे । स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका हुन् ।
निधीले विभिन्न स्रोतबाट प्राप्त जानकारी उद्धृत गर्दै १५ सय चिनियाँ जनमुक्ति सेनाको टोली आउन लागेको खुलासा गरे । सरकारका यस्ता कदमले लोकतान्त्रिक अधिकार कुण्ठित बन्ने चिन्ता कांग्रेस नेता निधीले व्यक्त गरेका छन् । साथै कम्युनिष्ट शासन लाद्न खोजेको उनको आरोप छ ।
यत्तिमात्र होईन यो चर्चा अहिले नेपाल र भारतमा भित्रभित्रै चुलिँदै गएको छ । लकडाउन खुकुलो बन्दै जाँदा कोरोना भाइरसको संक्रमण रोकथाममा सघाउन मेडिकल टीमसँगै चिनियाँ सेना नेपाल आउने चर्चा व्यापक छ ।
भारतीय चर्चित पत्रिका ‘द हिन्दु’ले चिनियाँ सेना नेपाल आउने समाचार यही जुन ७ मा प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको द हिन्दुको दावी छ ।
यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेताले संसदमै प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले स्वास्थ्य संकटकाल लगाएर चिनियाँ जनसेना नेपाल ल्याउन लागिएको बारे सरकारले जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका हुन् ।
नेपाल सरकारले भने यसबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । एक नेपाली सञ्चारमाध्यमले लिएको प्रतिक्रियामा नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले चिनियाँ सेना आउने बारेमा औपचारिक जानकारी केही नभएको बताए।
चीनको जनमुक्ति सेनाले मे महिनाको दोस्रो साता नेपाली सेनालाई कोभिड १९ सँग लड्न स्वास्थ्य सामग्री पठाएको थियो ।



प्रतिकृया दिनुहोस्