परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

डोटी जेठ १(ई-रैवार)
धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला ।
यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् । ईतिहासका कुनै कालखण्डमा यो मेला नरोकिएको जानकारहरुको कथन छ ।
तर, यसवर्ष रोकियो !
विश्वव्यापी चलिरहेको नोवेल कोरोनाभाईरस(कोभिड–१९)को प्रकोपको जोखिमलाई मध्येनजर गर्दै यसवर्ष मेला रोकिएको छ । ‘मेलामा हज्जारौंको भीड जम्मा हुन्छ,’ खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले भने,‘त्यसमा कोरोनाको संक्रमणको जोखिम अत्याधिक हुने र सरकारले समेत लकडाउनको अवस्थामा त्यस्ता भीडहरु हुन नदिने नीति लिएकाले यसपटक मेला भर्न रोक लगाएका हौ ।’
यसरी मेलामा रोक लग्दा परापूर्व कालदेखी मेला भर्ने समुदायले सकारात्मक रुपमा लिएका छन् । ‘यस्तो जर्जर अवस्थामा मेला लगाउदा बढ्ने जोखिमलाई मध्यवर्ती क्षेत्रका बासिन्दा र परापूर्व कालदेखी मेला भर्ने समुदायहरुले सकारात्मक रुपमा नै लिएका छौ,’ खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने,‘जारी महामारी रोकथाम र न्युनिकरणमा सबैको दायित्व हो ।’
खप्तड त्रिवेणी धाममा परापूर्व कालदेखी जेठ शुक्ल नवमी र दशमीमा गंगा–दशहरा मेला लाग्छ । परापूर्व कालमा यहाँ बाजुरा, अछाम, बझाङ र डोटी जिल्लाका बासिन्दाहरु यहाँ मेला भर्ने गर्दथे । जहाँ समुन्द्र सतहदेखी करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको संगम बनेको त्रिवेणी छ । सहस्रलिङ्गबाट बगेर आउने सोलिङ खोला(गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला(यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ ।
यही त्रिवेणीधाममा मनकामना मन्दिर छ, जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र बसाईका मुर्तीहरु छन् । स्कन्द–पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोही अनुसार यसक्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्दछन् ।
यसरी तर्पणको सबैभन्दा पबित्र समयका रुपमा गंगा–दशहरा मेलालाई लिईन्छ । यो समयमा नवमीमा मेला भरेर रातभर जाग्राम बस्दै, शीत खाएर दशमीमा त्रिबेणीमा स्नानगर्दै पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठुलो पुण्य पाईने र पितृहरुको वैकुण्ठबास हुने मान्यता छ ।
यसैकारण खप्तड त्रिबेणीमा परापूर्व कालदेखी नै गंगा–दशहरा मेला लाग्दै आएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उपाध्याय बताउछन् । ‘यो अचेल शुरु भएको मेला होईन्,’ उनी भन्छन्, ‘यहाँ यसैगरी खप्तडसंग जोडिएका चारजिल्ला र आसपासका क्षेत्रका बासिन्दा परापुर्व कालदेखी नै मेला भर्छन् । यहाँका बासिन्दाको यो परम्परादेखीकै एकमात्र ठुलो तीर्थ हो ।’
पछिल्लो समय खप्तडको व्यापक प्रचार–प्रसारपछि यो मेलामा सुदूरपश्चिम र देशविदेशबाट पनि तीर्थालु भक्तजन र पर्यटकहरु आउन थालेका थिए । जसले खप्तडको गंगा–दशहरा मेलाको रौनकता देशविदेश फैलिएको छ ।‘पछिल्ला कालखण्डमा यसको महिमा निकै फराकिलो भएको थियो । गंगा–दशहरामा त लाखौ मान्छे दर्शन गर्न पुग्थे,’ खप्तड पर्यटन क्षेत्र विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशी भन्छन् ।
यसपटक मेला नलाग्नु ऐतिहासिक संयोग भएको प्रसिद्ध शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट बताउछन् । ‘मैले सुनेको र मैले भोगेका समयअनुसार यसरी गंगा–दशहरा मेला रोकिएको यो पहिलोपल्ट हो,’ उनले भने,‘नत्र हालसम्म कुनै कारण वा कुनै अवस्थामा पनि यो मेला रोकिएको थिएन् ।’
मेला नभएपनि नेपाली सेनाले खप्तड त्रिवेणीमा नियमित पुजाआरधनाको काम भने नरोकेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घिमिरेले जानकारी दिए । उनले भने,‘खप्तडका पुराना पुजारीलाई ल्याएर सेनाले नियमित पुजाको कर्म भने पुरा गरेको छ ।’





प्रतिकृया दिनुहोस्