April 18, 2026, Saturday
२०८३ बैशाख ५

गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

कञ्चनपुर चैत्र ९(ई-रैवार)
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। कञ्चनपुरसँग सीमा जोडिएका अन्य नाकाहरूमा भने यसअघि नै आवागमन बन्द गर्ने निर्णय गरिसकिएको छ।
‘हामीले नाका बन्द गर्नुपर्ने अवस्था देखेपछि यस्तो निर्णय लिएका हौं’, उनले भने, ‘अर्को आदेश जारी नभएसम्म आवागमन पूर्ण रूपमा बन्द हुनेछ।’ कञ्चनपुरको गड्डाचौकी नाका भएर चैत ८ मा मात्रै ठूलो संख्यामा नेपालीहरू स्वेदश फर्किएका थिए।
नाका बन्द नहुँदा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीले पनि नाकामा आवागमन बन्द हुनुपर्ने माग गरेका थिए। यस्तै, रातिदेखि लागू हुनेगरी भीमदत्त नगरपालिका क्षेत्रमा दैनिक उपभोग्य पसल, राहत, यातायातबाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखानासमेत अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।