पूर्वराजा ज्ञानेन्द्रको दशैँ सन्देश : राजनीतिक अस्थिरता र खस्कँदो अवस्थाप्रति चिन्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
दशैँको शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक–सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले विपद्बाट सिर्जित शोकलाई शक्तिमा बदल्दै अघि बढ्नुपर्ने बताएका छन्।
क्षतिग्रस्त भौतिक संरचनाको द्रुत पुनर्निर्माण तथा पीडितको तत्काल पुनःस्थापनालाई राज्यले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्। बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान, मौलिकता र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक सजगता अपनाउनुपर्ने उनको भनाइ छ।
देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्र अन्योलको अवस्थामा रहेको उल्लेख गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउँदै अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै उनले विभाजित होइन, एकीकृत र परनिर्भर होइन, आत्मनिर्भर नेपाल निर्माणका लागि सबै नेपालीलाई आह्वान गरेका छन्।




प्रतिकृया दिनुहोस्