नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ। कात्यायनी देवीलाई साहस, शक्ति र विजयको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ।
आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। भद्रकाली, नक्साल भगवती, मैतीदेवी, दक्षिणकाली र गुह्येश्वरी लगायतका शक्तिपीठमा भक्तजन लामबद्ध भएर पूजा तथा दर्शन गरिरहेका छन्। मन्दिर जान नसक्ने भक्तजनले आफ्नै दशैँघर तथा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिरहेका छन्।
धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मशास्त्रमा साहस र शक्तिको प्रतीक मानिन्छ। यज्ञ, दान तथा अन्य पुण्यकर्म र शुभकार्यमा आसुरी प्रवृत्तिबाट हुने विघ्नबाधा हटाउन देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक मान्यता रहेको उहाँ बताउनुहुन्छ।
कात्यायनी देवीको उपासना गरेमा रोग, शोक, सन्ताप, भय तथा विभिन्न बाधा नष्ट हुने धार्मिक विश्वास छ। नवरात्रका नौ दिनमध्ये छैटौँ दिन कात्यायनी देवीको आराधना गर्ने परम्परा रहेको छ।
कात्यायनी देवीको पूजा विधि
कात्यायनी देवीको पूजा गर्दा सर्वप्रथम कलश तथा त्यसमा उपस्थित देवी–देवताको पूजा गर्ने परम्परा छ। त्यसपछि देवीको परिवारमा समावेश अन्य देवी–देवताको पूजा गरी कात्यायनी देवीको आराधना गरिन्छ।
पूजा सुरु गर्दा हातमा फूल लिएर देवीलाई प्रणाम गर्दै ध्यान तथा मन्त्र जप गर्ने गरिन्छ। कात्यायनी देवीको पूजा गरेपछि महादेव, परमपिता तथा भगवान् विष्णुको पनि देवी लक्ष्मीसहित पूजा गर्ने धार्मिक विधि रहेको शास्त्री बताउँछन्।
कात्यायनी देवीको स्वरूप
धार्मिक ग्रन्थहरूमा कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र स्वर्णजस्तै चम्किलो रहेको वर्णन गरिएको छ। सिंहलाई आफ्नो वाहन बनाउने कात्यायनी देवीका चार हात हुन्छन्।
उहाँका एक हातमा अभय मुद्रा, अर्कोमा वर मुद्रा रहेको हुन्छ भने बाँकी दुई हातमा क्रमशः तरबार र कमलको फूल धारण गरेको स्वरूपमा पूजा गरिन्छ। त्रिनेत्रधारी कात्यायनी देवीलाई शक्ति, साहस र विजयकी देवीका रूपमा आराधना गर्ने धार्मिक परम्परा छ।



प्रतिकृया दिनुहोस्