October 13, 2026, Tuesday
२०८३ आश्विन २७

रामकुमारी झाँक्रीको माग : खगेन्द्र सुनार प्रकरणमा महिला र बच्चालाई तत्काल सुरक्षा देऊ

काठमाडौँ । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको भनिएको अडियो प्रकरणमा पीडित महिला र उनका नाबालक बच्चालाई तत्काल सुरक्षा दिन सरकार र नेपाल प्रहरीसँग माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले सार्वजनिक अडियोमा महिला र बच्चामाथि अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको विषय गम्भीर रहेको बताएकी छन्। बच्चालाई समेत धम्की दिइएको भन्दै उनले सम्बन्धमा विवाद भए पनि त्यसको दोष बच्चामाथि थोपर्न नमिल्ने बताएकी छन्।

सार्वजनिक अडियो अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यो अडियो त मैले सुन्न पनि सकिनँ । अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ । बच्चालाई बिनाबाउको वेश्याको छोरा भनेको सुन्दा मेरोसमेत रगत तात्यो । उनीहरूको सम्बन्धमा बच्चाको यहाँ के दोष ? हिंसाको पनि हद हुन्छ नि !’

झाँक्रीले यो विषयलाई सामान्य व्यक्तिगत विवादका रूपमा नलिई महिला र बच्चाको सुरक्षासँग जोडिएको गम्भीर घटनाका रूपमा लिनुपर्ने बताएकी छन्। ‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,’ उनले भनेकी छन्, ‘नेपाल प्रहरी यसमा गम्भीर बनोस् र तत्काल सुरक्षा प्रबन्ध गरोस्।’

उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा रास्वपा सभापति रवि लामिछानेले समेत यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्। कुनै अप्रिय घटना हुनुअघि नै आमा र बच्चालाई उद्धार गरी सुरक्षा दिनुपर्ने उनको माग छ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्ति पुष्टि भए कारबाही हुने बताए। सङ्खुवासभा पुगेका सचेतक परियारले पत्रकारहरूसँग कुरा गर्दै अहिले पार्टीले छानबिन प्रक्रिया अघि बढाइसकेको बताए।

उनले भने, ‘प्रमाणहरू नष्ट हुन्छ भनेर स्वयम् सांसद खगेन्द्र सुनारलाई सहयोग गर्न पार्टी महामन्त्रीले सार्वजनिक विज्ञप्ति जारी गरेर अनुशासन आयोगलाई दसैंको मुखमा सक्रिय बनाएको कुरा यो ऐतिहासिक हो। उहाँलाई सार्वजनिक अभिव्यक्ति नदिन, सार्वजनिक कार्यक्रममा सरिक नहुन र पार्टीको अनुशासन आयोगलाई यो घटनाको सत्यतथ्य, यथार्थ बारेमा सहयोग गर्न निर्देशन दिइसकेको छ।’

पार्टीको अनुशासन आयोगले उच्चस्तरीय छानबिन गरिरहेको भन्दै एक जना व्यक्तिको पछाडि लागेर रास्वपा सती नजाने प्रस्ट पारे। ‘छानबिनको प्रतिवेदनको आधारमा निलम्बनदेखि राइट टु रिकलसम्म गर्ने हाम्रो विधानमा छ, त्यसमा तपाईँहरू ढुक्क हुनुस्। कोही पनि अपराध कर्म गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द हाम्रै पार्टीको सांसदले हो भने कारबाही हुन्छ, हुन्छ, हुन्छ। एक जना व्यक्तिको पछाडि राखेर राष्ट्रिय स्वतन्त्र पार्टी सती जाँदैन।’