October 17, 2026, Saturday
२०८३ कार्तिक १

अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारको प्रतिक्रिया : ‘दोषी ठहरिए हतकडी लगाएर जान तयार छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि हुने छानबिनमा पार्टी र सरकारलाई पूर्णरूपमा सहयोग गर्ने बताएका छन्।

एक महिलालाई अश्लील गाली गर्दै धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सांसद सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार सोमबार ‘जनआस्था’ले प्रकाशित गरेको थियो। त्यसपछि मंगलबार रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र घटनाबारे छानबिन अघि बढाइएको जानकारी दिएका थिए।

त्यसपछि फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुनारले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको बताएका छन्। उनले पार्टी र राज्यका निकायबाट हुने छानबिनमा सहयोग गर्ने तथा आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बन हुन र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको बताएका छन्।

‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ उनले भनेका छन्, ‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु।’

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबीसमेत गरेका छन्। पार्टीको कामको सिलसिलामा दाङमा रहेका उनले आफूले कानुनविपरीत कुनै अपराध गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्।

‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन,’ उनले भनेका छन्।

सार्वजनिक भएको अडियोप्रति भने सुनारले प्रश्न उठाउँदै उक्त अडियो बनावटी भएको दाबी गरेका छन्। घटनाबारे पार्टीले छानबिन अघि बढाइसकेको अवस्थामा अब उक्त आरोप र अडियोको सत्यतथ्य छानबिनबाट स्पष्ट हुने देखिन्छ।

सुनार बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।