October 18, 2026, Sunday
२०८३ कार्तिक २

विवादित अडियो सार्वजनिक भएपछि रास्वपा सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित महिलामाथि दुर्व्यवहार, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरु गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन्।

छानबिन निष्कर्षमा नपुगेसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको आचार्यले बताएका छन्।

पार्टीले सञ्चारमाध्यममार्फत सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषय देखिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वाससमेत व्यक्त गरेको छ।

पार्टीले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने जनाउँदै आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम आवश्यक थप कदम चालिने जनाएको छ।

रास्वपाले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने स्पष्ट पारेको छ।