October 10, 2026, Saturday
२०८३ आश्विन २५

दिल्लीमा सीजेपीका तीन संस्थापक नेता विमानभित्रैबाट पक्राउ, ध्रुव राठी पनि नियन्त्रणमा

काठमाडौं । भारतको राजधानी दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै प्रदर्शन गर्न पुगेका ककरोच जनता पार्टी (सीजेपी) का तीन संस्थापक नेतालाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको छ।

सीजेपीका अनुसार अभिजित दीपके, सौरव दास र आशुतोष रांका शनिबार मुम्बईबाट दिल्ली पुगेका थिए। दिल्ली विमानस्थलमा विमानभित्रै रहेका बेला प्रहरीले उनीहरूलाई हिरासतमा लिएको पार्टीले दाबी गरेको छ। दीपकेले विमानबाटै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको सीजेपीको भनाइ छ।

पार्टीले प्रहरीको कदमलाई ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जनालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ। मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको आरोप लगाउँदै सीजेपीले घटनाको विरोध गरेको छ।

यसैबीच, चर्चित युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको छ। सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले समेत प्रहरीले आफ्नो घर पुगेको र आफू सवार कारलाई घेरा हालेको भिडियो सार्वजनिक गरेकी छन्। उनका अनुसार प्रहरीले माथिबाट आदेश आएको भन्दै उनलाई घरमै बस्न भनेको थियो। उक्त कारमा तीन महिला रहेको उनले बताएकी छन्।

सीजेपीको प्रदर्शनमा सहभागी हुन जन्तरमन्तर जान लागेका पार्टीका अन्य समर्थकलाई पनि प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। समाचारअनुसार राजधानीका विभिन्न स्थानबाट करिब ६०० समर्थक पक्राउ परेका छन्। प्रदर्शन रोक्न प्रहरीले सडकमा अवरोध राख्नुका साथै सवारीसाधनको आवागमनमा निगरानी बढाएको छ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ। नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शन रोक्न शुक्रबार भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो। प्रहरीले केही मेट्रो स्टेसनका प्रवेशद्वारसमेत बन्द गरेको थियो।

यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेल स्टेसनमा सेवा रोक्ने आदेश दिइए पनि भारतको सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको थियो।

सीजेपीले यो प्रदर्शनलाई यसअघि भएको ‘ककरोच आन्दोलन’को दोस्रो चरणका रूपमा अघि बढाएको बताइएको छ। यसअघि परीक्षामा अनियमितताको विरोधमा भएको आन्दोलनपछि भारतका शिक्षा मन्त्रीले राजीनामा दिएका थिए।

यसैबीच, राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कंग्रेससहित विपक्षी दलहरूले पनि मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गर्दै आएका छन्। विपक्षी दल तथा आलोचकहरूले मतदाता नामावलीको विशेष गहन पुनरावलोकनका क्रममा करोडौँ मतदाताको नाम हटाएर भारतीय जनता पार्टी (भाजपा) लाई लाभ पुर्‍याउन खोजिएको आरोप लगाउँदै आएका छन्। भाजपाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।

मतदाता नामावली पुनरावलोकन र निर्वाचन प्रक्रियाको निष्पक्षतालाई लिएर चर्किएको विवादका बीच दिल्लीमा प्रदर्शनकारीमाथि गरिएको प्रहरी कारबाहीले थप राजनीतिक बहस सिर्जना गरेको छ।