दशैँ-तिहारको मुखमा बजार महँगिँदै, सुपथ मूल्य पसलमा बढ्यो आकर्षण

धनगढी । दशैँ–तिहार नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको माग बढेसँगै बजारमा मूल्यसमेत बढ्न थालेपछि धनगढीमा सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढेको छ। बजारभन्दा सस्तो मूल्यमा चिनी, नुन, तेल, चामल, दाललगायतका वस्तु पाइने भएपछि उपभोक्ता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सुपथ मूल्य पसलतर्फ आकर्षित भएका हुन्।
असोज १ गतेदेखि सञ्चालनमा आएको धनगढीस्थित सुपथ मूल्य पसलमा पछिल्ला दिनमा दैनिक १५० देखि २०० जनासम्म उपभोक्ता सामान खरिद गर्न पुगिरहेका छन्। चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको संख्या अझै बढ्ने साल्ट ट्रेडिङको अनुमान छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका अनुसार धनगढीस्थित कार्यालय परिसरमा सञ्चालित पसलसहित कैलाली र कञ्चनपुरका विभिन्न पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन्। पहाडी जिल्लातर्फ डोटी, डडेल्धुरा र बैतडीको पाटनबाट पनि दैनिक उपभोग्य वस्तु बिक्री भइरहेको छ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ। नुन, तेल, दाल र चामललगायतका वस्तु पनि बजार मूल्यभन्दा कममा बिक्री भइरहेको कार्यालयले जनाएको छ। बजारमा मूल्य बढिरहेको अवस्थामा विशेषगरी चिनी, नुन र तेल सस्तो पाइने भएपछि उपभोक्ताको आकर्षण बढेको हो।
धनगढीकी उपभोक्ता बिस्ना भट्ट पाठकले छिमेकीबाट सुपथ मूल्य पसलबारे जानकारी पाएपछि सामान खरिद गर्न आएको बताइन्। बजारको तुलनामा चिनी सस्तो पाइएपछि साल्ट ट्रेडिङबाटै खरिद गरेको उनले बताइन्।
‘छिमेकीहरूबाट सुपथ मूल्य पसलबारे थाहा पाएँ। त्यसपछि साल्ट ट्रेडिङमा आएर चिनी लिएँ। बाहिरको बजारभन्दा निकै कम मूल्यमा पाएँ, राम्रो लाग्यो,’ उनले भनिन्।
सुपथ मूल्य पसलमा एक व्यक्तिले चिनी, नुन र तेललगायतका वस्तु अधिकतम पाँच किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ। सीमित परिमाणमा बिक्री गर्ने व्यवस्थाले धेरै उपभोक्तालाई सुपथ मूल्यमा वस्तु उपलब्ध गराउन सहज भएको साल्ट ट्रेडिङको भनाइ छ।
धनगढी–३ का देव चन्दले बजारको तुलनामा चिनी, नुन र तेल सस्तो मूल्यमा पाएको बताए। बजारमा मूल्य बढिरहेका बेला केही वस्तु कम मूल्यमा किन्न पाउँदा चाडपर्वको खर्च व्यवस्थापनमा सहयोग पुगेको उनको भनाइ छ।
साल्ट ट्रेडिङको प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार सुपथ मूल्य पसल दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ। चाडपर्वका समयमा उपभोक्तालाई सहज सेवा दिने उद्देश्यले सार्वजनिक बिदाका दिनसमेत पसल खुला राखिएको उनले बताए।
‘चाडपर्वका बेला उपभोक्ताको माग बढ्ने भएकाले सोहीअनुसार सामानको व्यवस्थापन गरिरहेका छौँ। उपभोक्तालाई बजारभन्दा सस्तो मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ कुँवरले भने।
दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल चाडपर्व अवधिभर सञ्चालन हुनेछ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग र मूल्य दुवै बढ्ने अवस्थामा सुपथ मूल्य पसलले उपभोक्तालाई केही राहत दिने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्