कांग्रेस सभापतिमा किशोरसिंहको उम्मेदवारी घोषणा, आफूलाई रोक्न षड्यन्त्र गरिएको राठौरको दाबी

काठमाडौँ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि किशोरसिंह राठौरले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

राठौरले कांग्रेसलाई एकताबद्ध, सुदृढ र जनतासँग जोडिएको पार्टीका रूपमा अघि बढाउने एजेण्डासहित आफू सभापतिको दौडमा आएको बताए। पार्टीभित्रको गुटगत विभाजन अन्त्य गर्दै संगठनलाई बलियो बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

उम्मेदवारी घोषणा गर्दै राठौरले आफूले सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी थालेपछि आफ्नो प्रतिनिधित्वसमेत रोक्ने प्रयास भएको दाबी गरे। आफ्नो सदस्यता रहेको बर्दिया जिल्लामा कुनै विवाद नरहेको भए पनि आफूलाई महाधिवेशनको प्रतिस्पर्धाबाट रोक्ने उद्देश्यले प्रतिनिधि चयनमा अवरोध सिर्जना गर्न खोजिएको उनको आरोप छ।

‘मेरो क्षेत्रमा कुनै विवाद थिएन तर सभापतिमा उम्मेदवारीको तयारी गरेपछि प्रतिनिधि नै रोक्न नाटक गरियो,’ राठौरले भने, ‘म सभापतिमा उम्मेदवारीको तयारीमा छु, जसरी पनि प्रतिस्पर्धामा जान्छु।’

उनले आफूलाई रोक्न विभिन्न किसिमका राजनीतिक चलखेल भए पनि उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारे। पार्टीको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धालाई बलियो बनाउन पनि नेतृत्व चयनमा सबैलाई समान अवसर हुनुपर्ने उनको धारणा छ।

राठौर यसअघि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षमा रहेर सक्रिय राजनीति गर्दै आएका थिए। पछिल्लो समय भने उनले आफू संस्थापन पक्षतर्फ आएको विषयलाई पनि स्पष्ट पार्ने प्रयास गरेका छन्। कांग्रेसको विचार, संगठन र पहिचानको प्रतीकका रूपमा रहेको चार तारे झण्डा र रूख चुनाव चिह्न संस्थापन पक्षसँग रहेकाले आफू पनि त्यही पक्षमा रहेको उनको भनाइ छ।

राठौरले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटगत ध्रुवीकरणले संगठन कमजोर बनाएको भन्दै पार्टीलाई एकताको आधारमा अघि बढाउनुपर्ने बताएका छन्। नेतृत्वमा पुगेपछि सबै पक्षलाई समेटेर अघि बढ्ने र कांग्रेसलाई आन्तरिक रूपमा बलियो बनाउने उनको दाबी छ।

उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप बहुकोणीय बनेको छ। यसअघि सभापति पदका लागि गगन थापा स्वाभाविक उम्मेदवारका रूपमा अघि बढिरहेका छन्। सोमबार मात्रै श्यामकृष्ण खड्कीले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भेरहेको छ। सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता भएपछि नेतृत्वका लागि हुने प्रतिस्पर्धाको वास्तविक समीकरण स्पष्ट हुने देखिएको छ।

राठौरको उम्मेदवारीले विशेषगरी संस्थापन पक्षसँग उनको विगतको राजनीतिक सम्बन्ध र पछिल्लो राजनीतिक धारलाई लिएर कांग्रेसभित्र नयाँ समीकरणको चर्चा पनि सुरु भएको छ। उनले भने आफू कुनै गुटको स्वार्थभन्दा कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यसहित सभापतिको प्रतिस्पर्धामा आएको दाबी गरेका छन्।

सभापतिका आकांक्षीहरूबीच नेतृत्व, संगठनको पुनर्संरचना, पार्टीभित्रको गुटगत विभाजन अन्त्य तथा आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने विषय प्रमुख एजेण्डा बन्दै गएको छ। राठौरले पनि आफ्नो उम्मेदवारीलाई यिनै विषयसँग जोड्दै कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।