मौसमविद्को चेतावनी : पर्सिदेखि वर्षा पूर्वदेखि पश्चिमसम्म फैलिने, एक सातासम्म असर

काठमाडौं । नेपालमा आजदेखि वर्षाको गतिविधि थप बढ्ने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार असोज १९ गतेदेखि केही दिन देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। विशेषगरी पहाडी क्षेत्रमा वर्षाको मात्रा बढ्ने र पूर्वी नेपालमा तुलनात्मक रूपमा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ।
पोखरेलका अनुसार पछिल्लो रातदेखि नै देशका धेरै स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका अधिकांश स्थानसहित बागमती, गण्डकी, लुम्बिनी हुँदै कर्णालीसम्मका विभिन्न क्षेत्रमा पानी परेको छ। दक्षिणी नेपालका केही स्थानमा चट्याङसहित मेघगर्जनसमेत भएको उनले बताए।
‘अब वर्षा अलि धेरै हुने समय आएको छ,’ पोखरेलले भनेका छन्, ‘आज पनि लगभग दिनभरि धेरै ठाउँमा पानी पर्ने देखिन्छ र भोलि पहाडी भेगमा अझ धेरै स्थानमा पानी पर्ने सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ः२६ बजेसम्म पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा झापाको चन्द्रगढीमा मापन भएको थियो। त्यहाँ एक घण्टामै २३.४ मिलिमिटर वर्षा भएको थियो।
यस्तै, बाँकेको ढकेरीमा आइतबार बिहान दुई घण्टामै ७० मिलिमिटरभन्दा बढी वर्षा भएको पोखरेलले बताएका छन्। हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
पर्सिदेखि पूर्वबाट पश्चिमतर्फ फैलिने
मौसमविद् पोखरेलका अनुसार सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षाको गतिविधि अझ बढ्न सक्छ। पूर्वी नेपालमा वर्षाको मात्रा तुलनात्मक रूपमा बढी हुने देखिएको छ।
पर्सिदेखि भने वर्षाको गतिविधि पूर्वबाट पश्चिमतर्फ विस्तार हुने उनको पूर्वानुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिमसम्म वर्षाको सम्भावना रहनेछ।
सुदूरपश्चिमका केही स्थानमा छोटो समयका लागि भारी वर्षा हुनसक्ने भए पनि लामो समयसम्म लगातार भारी वर्षा हुने अवस्था नरहेको पोखरेलले बताए। काठमाडौं उपत्यकामा पनि आजदेखि करिब तीन दिनसम्म राम्रो वर्षा हुनसक्ने उनको भनाइ छ।
किन भइरहेको छ वर्षा ?
पोखरेलका अनुसार कमजोर पश्चिमी वायुको प्रभावसँगै माथिल्लो वायुमण्डलीय प्रवाहका कारण नेपाल आसपास न्यूनचापीय प्रणालीहरू पटक–पटक सक्रिय भइरहेका छन्।
यससँगै पश्चिमी वायुमार्फत आउने आर्द्रता तथा बंगालको खाडी र अरब सागरबाट समेत आर्द्रता नेपालतर्फ प्रवेश गरिरहेकाले वर्षाको गतिविधि बढेको उनले बताए।
पूर्वी नेपालमा मनसुनको प्रभाव केही बाँकी रहनु, पश्चिमी वायुको प्रभाव र समुद्री क्षेत्रबाट आएको आर्द्रताको संयोजनले अहिलेको वर्षा गतिविधिलाई सहयोग गरिरहेको उनको भनाइ छ।
एक सातामा ५०–६० मिलिमिटर वर्षाको अनुमान
पोखरेलले आगामी एक सातामा नेपालभर औसतमा ५० देखि ६० मिलिमिटरसम्म वर्षा हुनसक्ने अनुमान गरेका छन्।
यो अनुमान चारवटा मौसम पूर्वानुमान मोडलको औसतका आधारमा गरिएको उनले बताएका छन्। मध्यपहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुने तथा हिमाली क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ। तराईमा भने पहाडी र हिमाली क्षेत्रको तुलनामा कम वर्षा हुने देखिएको छ।
यद्यपि मौसम पूर्वानुमान मोडलमा आधारित हुने भएकाले वर्षाको समय, स्थान र वास्तविक मात्रा फरक पर्न सक्ने पोखरेलले स्पष्ट पारेका छन्।
घटस्थापनासम्म के हुन्छ ?
तीन दिनपछि वर्षाको मात्रा केही घट्ने सम्भावना रहे पनि वर्षा पूर्ण रूपमा रोकिने अवस्था भने नरहने पोखरेलको अनुमान छ।
घटस्थापनाको दिनसम्म वर्षा केही कम हुँदै जाने र त्यसपछि मौसममा सुधार भएर घाम लाग्ने अवस्था बन्नसक्ने उनले बताएका छन्।
मौसमविद्ले विशेषगरी ट्रेकिङमा जाने तथा धान काट्ने तयारीमा रहेका किसानलाई दैनिक मौसम पूर्वानुमान हेरेर मात्रै योजना बनाउन सुझाव दिएका छन्।
अहिलेको पूर्वानुमानअनुसार आगामी केही दिन वर्षाको गतिविधि सक्रिय रहने भएकाले छोटो अवधिमै ठूलो वर्षा हुनसक्ने स्थानमा यात्रा तथा अन्य गतिविधि गर्दा स्थानीय मौसमको अवस्था ख्याल गर्नुपर्ने देखिन्छ।



प्रतिकृया दिनुहोस्