च्याउ टिप्न गएका कैलालीका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।
चौधरी सोही वडाको चरीडाँडा निवासी हुन्। प्रहरीका अनुसार उनी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा प्रवेश गरेका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्