October 24, 2026, Saturday
२०८३ कार्तिक ८

गोदावरी नगरपालिकाको बजार अनुगमनमा मासुसहित म्याद नाघेका खाद्य वस्तु बरामद

कैलाली । चाडपर्वलाई लक्षित गर्दै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमन तीव्र बनाएको छ। अनुगमनको दोस्रो दिन अत्तरिया बजार क्षेत्रका होटल तथा किराना पसलबाट अखाद्य, म्याद नाघेका र उपभोगका लागि अनुपयुक्त खाद्य वस्तु बरामद गरिएको छ।

नगरपालिकाका अनुसार होटल तथा खाद्य व्यवसायबाट प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड), म्याद सकिएका मसला, अखाद्य आइसक्रिम तथा अखाद्य रङ्ग मिसाइएको मासुलगायत सामग्री फेला परेका थिए। अनुगमन टोलीले बरामद गरिएका उपभोगका लागि अनुपयुक्त तथा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको जनाएको छ।

गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुन्द्र धामीले उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण गर्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको बताए।

उनका अनुसार दोस्रो दिनको अनुगमनमा होटलबाट बढी मात्रामा अखाद्य सामग्री फेला परेको थियो। होटलबाट प्लास्टिकका चपिङ बोर्ड, अखाद्य रङ्ग मिसाइएको मासु तथा अन्य खाद्य सामग्री र किराना पसलबाट म्याद नाघेका मसला तथा अखाद्य आइसक्रिम बरामद गरिएको थियो।

अनुगमनका क्रममा केही व्यवसायीले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको समेत पाइएको नगरपालिकाले जनाएको छ। त्यस्ता व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिँदै पुनः त्यस्तो अवस्था भेटिए कारबाही गर्ने चेतावनी दिइएको छ।