नेपाली नारीको महान् पर्व हरितालिका तीज आजबाट सुरु

काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको हो।
परम्पराअनुसार माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ। भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप अघिल्लो दिन आडिलो तथा पौष्टिक परिकार खाने गरिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दरमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी र घिउ खाने परम्परा छ। शास्त्रीय मान्यताअनुसार दर रात छँदै खाइसक्नुपर्ने विधान रहेको छ।
तीज धार्मिक पर्वसँगै महिलाहरूले आफ्ना दुःख, पीडा र अनुभव गीत तथा नृत्यमार्फत अभिव्यक्त गर्ने सामाजिक अवसरका रूपमा पनि विकसित भएको छ। माइतीमा भेला भएका दिदीबहिनीबीच सुख–दुःख साटासाट गर्ने परम्पराले तीजलाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व बनाएको छ। पछिल्लो समय भने यसको प्रभाव भारतका विभिन्न क्षेत्रमा समेत विस्तार भएको छ।
चार दिनसम्म मनाइन्छ तीज
दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत र चौथीका दिन गणेश पूजा गरिन्छ। यस वर्ष भदौ ३० गते मङ्गलबार बिहान गणेश चौथी तथा सोही दिन मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा पुर्याएको र त्यहीँ उनले भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वास गरिन्छ।
साथीहरूले पार्वतीलाई हरण गरी लुकाएको प्रसङ्गसँग जोडेर यो व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालु महिलाको ठूलो भीड लाग्ने गर्दछ। तीजसँगै नेपाली समाजमा चाडपर्वको उल्लास सुरु हुने र त्यसपछि बडादसैँ तथा तिहारजस्ता प्रमुख पर्व आउने भएकाले यसको सांस्कृतिक महत्वसमेत विशेष मानिन्छ।
तडकभडक र विकृतिप्रति चिन्ता
पछिल्ला वर्षमा तीजका नाममा बढ्दै गएको तडकभडक, महँगा पोसाक तथा गरगहनाको प्रदर्शन र उच्छृङ्खल गतिविधिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।
समाजशास्त्री कीर्तिकुमार राईका अनुसार महिना दिनअघिदेखि नै दर खाने, महँगा गरगहना र पोसाक प्रदर्शन गर्ने तथा तामसी खाद्यपदार्थ प्रयोग गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृतिलाई विकृतितर्फ धकेलिरहेको छ। यस्ता प्रदर्शनले आर्थिक रूपमा कमजोर वर्गमा हीनभावना र निराशा बढाउन सक्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको विज्ञहरूको तर्क छ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले द्वितीयाको बेलुकी दर खाने शास्त्रीय व्यवस्था गरिएको हो। उनका अनुसार मौलिक संस्कृति संरक्षण गर्नुपर्ने सरकारी निकायहरू नै महिनौँअघिदेखि तामझामसहितका कार्यक्रम सञ्चालन गर्नु उचित होइन।



प्रतिकृया दिनुहोस्