October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न बजेट पुनर्लेखन गर्ने सरकारको निर्णय, अर्थ मन्त्रालयलाई जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लामो समयदेखि कायम बजेट शून्यता अन्त्य गर्न नयाँ बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले ल्याएको बजेटको पुनरावलोकन, आवश्यक परिमार्जन तथा पुनर्लेखन गरी नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता प्रकाश रावलका अनुसार बजेट निर्माणको आवश्यक प्रक्रिया अघि बढाउने अधिकार आर्थिक मामिला मन्त्रालयलाई दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

प्रदेशको वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा अघिल्लो बजेटमा प्रस्तावित योजना तथा कार्यक्रमको पुनरावलोकन गरिने भएको छ। आवश्यकताअनुसार योजना तथा कार्यक्रम संशोधन तथा परिमार्जन गरी बजेटलाई कार्यान्वयनयोग्य बनाउने सरकारको तयारी छ।

बजेट निर्माणका क्रममा प्रदेशका प्राथमिकता, जनताको प्रत्यक्ष सरोकार र उपलब्ध स्रोतसाधनलाई आधार बनाइने प्रवक्ता रावलले बताए। सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी बजेटलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

यसअघि बजेट शून्यता अन्त्य गर्न मुख्यमन्त्री भट्टले शुक्रबार बोलाएको सर्वदलीय बैठकले पनि बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको थियो। सोही सहमतिका आधारमा मन्त्रिपरिषद्ले नयाँ बजेट निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

यसैबीच, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याललाई धन्यवाद दिने निर्णयसमेत गरेको प्रवक्ता रावलले जानकारी दिए।

प्रदेश सरकारले आवश्यक कानुनी तथा प्रक्रियागत काम पूरा गरी प्रदेशसभाबाट बजेट पारित गराउने तयारी गरेको छ।