कांग्रेसमा एकताको प्रयास तीव्र, खड्का-शेखरका माग सम्बोधन गर्दै १५औँ महाधिवेशनतर्फ थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी तीव्र पारेका छन्। त्यसका लागि उनले संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासँग संवाद अघि बढाएका छन्।
सभापति थापा र नेता कोइरालाबीच आइतबार भएको छलफलमा पार्टी एकताका विषयमा कुराकानी भएको थियो। कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्दै त्यसका लागि आफू त्याग गर्न तयार रहेको बताएका छन्।
संस्थापनइतर पक्षले उठाउँदै आएको मुख्य मागमध्ये क्रियाशील सदस्यता नवीकरण गरेका तर विवरण अद्यावधिक नगरेकालाई पनि १५औँ महाधिवेशनमा सहभागी गराउने विषयमा संस्थापन पक्ष सहमत भएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका सदस्यले महाधिवेशनमा भाग लिन पाउनेछन्। पार्टी परित्याग गरेका, निधन भएका वा अनुशासनको कारबाहीमा परेकाबाहेकलाई सहभागी गराउने तयारी छ।
त्यस्तै, १५औँ महाधिवेशन निष्पक्ष बनाउन विभिन्न समितिमा सबै पक्षका नेताहरूलाई समेट्ने तयारी गरिएको छ। क्रियाशील सदस्यता छानबिन समिति, केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र विधान संशोधन समितिमा सबै पक्षको प्रतिनिधित्व गराउने विषयमा संस्थापन पक्ष सकारात्मक देखिएको छ।
महाधिवेशन तयारीका लागि आवश्यक परे सबै पक्षका नेताहरू सहभागी हुने संयन्त्र गठन गर्ने अधिकार सभापति थापालाई दिने तयारीसमेत छ। यस्तो संयन्त्रले महाधिवेशनका तयारी तथा निर्वाचन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन सहयोग गर्ने कांग्रेस नेताहरूको भनाइ छ।
यसैबीच, नेता अर्जुननरसिंह केसीले पार्टी एकताका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पाँचबुँदे प्रस्ताव अघि सारेका छन्। उनले पुरानो र हालको कार्यसम्पादन समितिलाई एकीकृत गर्ने, महाधिवेशन तयारीका समितिमा आवश्यक हेरफेर गर्ने तथा १५औँ महाधिवेशनको मिति नलम्ब्याउने प्रस्ताव गरेका छन्।
केसीले १५औँ महाधिवेशन कात्तिक १७ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरे पनि सभापति थापाले महाधिवेशन नसर्ने स्पष्ट पारेका छन्। थापाका अनुसार केन्द्रीय महाधिवेशन असोज १६ गते काठमाडौंमा उद्घाटन हुनेछ। रसुवा, नुवाकोट र धादिङमा विपद्का कारण वडा अधिवेशन तत्काल गर्न कठिन भएकाले तल्ला तहका केही अधिवेशन भने करिब एक साता सार्ने तयारी भइरहेको छ।
उता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशनको तयारी अघि बढाइसकेको छ। देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर गतिविधि गरिरहेको छ। देउवा पक्षका नेताहरूले देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन्।
खड्का र शेखर कोइराला पार्टी एकताका लागि सकारात्मक देखिए पनि देउवा पक्षसँग भने सभापति थापाको संवाद हुन सकेको छैन। संस्थापन पक्षले भने वडा अधिवेशनअघि संस्थापनइतर पक्षका अधिकांश माग सम्बोधन गर्दै पार्टीमा बृहत्तर एकताको सन्देश दिने तयारी गरेको छ।



प्रतिकृया दिनुहोस्