September 1, 2026, Tuesday
२०८३ भाद्र १६

विपद्को राहत रकम तत्काल प्रभावित क्षेत्रमा पठाइने : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठूलो भरोसाका रूपमा लिएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनासम्बन्धी छलफलमा उनले राहत कोषमा जम्मा भएको रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाइने बताए।

राहत रकम निकासामा हुने प्रशासनिक ढिलासुस्ती अन्त्य गरिने बताउँदै वाग्लेले कोषमा पैसा थुप्रिने तर स्थानीय तहमा नपुग्ने अवस्था आउन नहुने बताए। उनले १६ प्रभावित पालिकामध्ये अति आवश्यक देखिएका चार पालिकालाई प्राथमिकतामा राखेर तत्काल कोष परिचालन गर्न निर्देशन दिए।

मेयर वा प्रमुख जिल्ला अधिकारीको औपचारिक पत्र कुरेर समय खेर नफाल्न आग्रह गर्दै उनले आवश्यकताका आधारमा राहत रकम निकासा गर्नुपर्ने बताए।

विपद्पछिको पुनर्निर्माणमा भौतिक संरचनासँगै नागरिकको जीविकोपार्जन र सामाजिक परिवेशलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। गोरखा भूकम्पपछि लाप्राकमा निर्माण गरिएका करिब ४०० घर प्रयोगमा नआएको उदाहरण दिँदै उनले पुनर्निर्माणमा सामाजिक र आर्थिक पक्षलाई समेत समेट्नुपर्ने बताए।

वाग्लेले विपद्पछिको आवश्यकता मूल्याङ्कनअन्तर्गत तत्काल सार्वजनिक तथा निजी क्षेत्रको भौतिक क्षति र आर्थिक घाटाको विवरण सङ्कलन गरिने जानकारी दिए। त्यसपछि पुनर्स्थापना, पूर्वाधार निर्माण र एकीकृत बस्ती विकासको दीर्घकालीन गुरुयोजना बनाइनेछ।

उनले बिहीबार साँझसम्म र्‍यापिड एसेसमेन्टको प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए।

व्यवसाय पुनरुत्थान प्याकेज ल्याइने

विपद्का कारण अर्थतन्त्र र जनजीवनमा परेको असर न्यूनीकरण गर्न सरकारले छिट्टै बिजनेस रिकभरी प्याकेज ल्याउने तयारी गरेको वाग्लेले बताए।

पूर्वाधार पुनर्निर्माणसँगै नागरिकको जीवनयापनको लागतलाई सम्बोधन गर्ने गरी सरकार आवश्यकताअनुसार लचिलो भएर अघि बढ्न तयार रहेको उनको भनाइ छ।