भोटेकोशी बाढी : त्रिशूली-३ ‘बी’ सुरुङको पोर्टसम्म पुग्यो उद्धार टोली

काठमाडौं । भोटेकोशी बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङको पोर्टसम्म उद्धार टोली पुगेको छ। उद्धार टोली अहिले सुरुङको मुख सफा गर्ने काममा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ। उद्धारकर्मीले क्यामरासहित सुरुङभित्र प्रवेश गरी त्यहाँको अवस्था निरीक्षण गर्नेछन्। क्यामराको माध्यमबाट सुरुङभित्रको अवस्थासमेत बाहिरबाट निगरानी गर्न सकिने जनाइएको छ।
सचिवालयका अनुसार पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि सम्भावित कार्यस्थलमा पुग्न सकिने अनुमान छ। उद्धार टोली कार्यस्थलसम्म पुगेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था र स्थानबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
आयोजनामा कार्यरत करिब ४० जना कर्मचारी तथा श्रमिक सुरुङभित्र फसेको अनुमान गरिएको छ। आयोजनाका एक प्रतिनिधिका अनुसार कर्मचारी, उनीहरूका परिवारका सदस्य, परामर्शदाता तथा ठेकेदार कम्पनीका कामदारसमेत गरी ठूलो संख्या सम्पर्कविहीन छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा विनाशकारी बाढी आएको चार दिन बितिसक्दा पनि ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये ठूलो संख्या सुरुङ वा पावरहाउसमा फसेको हुन सक्ने अनुमान गरिएको छ।
इप्पानका अनुसार रसुवाका आयोजनामध्ये माथिल्लो त्रिशूली–१ मा ५७६ जना, रसुवागढीमा ९३ जना, लाङटाङ खोलामा ४२ जना, चिलिमेमा ८ जना, मैलुङ खोलामा ७ जना र रसुवा–भोटेकोशीमा ४ जना सम्पर्कविहीन छन्।
नुवाकोटका आयोजनामध्ये माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, मिडल त्रिशूली गंगामा २ जना, त्रिशूलीमा १ जना र देवीघाटमा १ जना सम्पर्कविहीन रहेको विवरण छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले सुरुङ र पावरहाउसमा फसेकाहरूको उद्धारमा ढिलाइ भएको बताएका छन्। उनका अनुसार उद्धारमा जति ढिलाइ हुन्छ, जोखिम त्यति नै बढ्दै जान्छ। विदेशी प्राविधिक टोलीको सहयोग सुरुदेखि नै लिएको भए उद्धारमा सहज हुने उनको भनाइ छ।
सरकारले सुरुमा विदेशी सहयोग नलिने नीति लिए पनि चौतर्फी दबाबपछि चीन र भारतबाट सुरुङ उद्धार टोली परिचालन गर्न अनुमति दिएको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन भइसकेको छ भने थप चिनियाँ उद्धारकर्मी पनि नेपाल आएका छन्। भारतबाट पनि सुरुङ उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत् आयोजनामा उद्धार तथा खोजी भइरहेको छ। त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको टोली परिचालन गरिएको छ भने माथिल्लो त्रिशूली–१ मा चिनियाँ टोली र नेपाली सेना तथा चिलिमेमा भारतीय उद्धार टोली र नेपाली सेना खटिएका छन्।
ऊर्जामन्त्री श्रेष्ठको सचिवालयले प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको जनाएको छ।
यसैबीच त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि काम भइरहेको छ। उद्धारको नेतृत्व गरिरहेका सुरुङ विज्ञ तथा सांसद श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलभन्दा करिब ८०० मिटर तल सुरुङको मुख भेटिएको छ।





प्रतिकृया दिनुहोस्