August 31, 2026, Monday
२०८३ भाद्र १५

दिल्लीमा निवर्तमान मुख्यमन्त्री शाह र भाजपाका राष्ट्रिय उपाध्यक्ष रावतबीच भेट

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच शनिबार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ।

उपचारका क्रममा नयाँदिल्लीमा रहेका शाह र रावतबीच हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिबारे विशेष छलफल भएको थियो।

भेटका क्रममा रावतले रसुवा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए। उनले विपद्को यस दुःखद घडीमा नेपाललाई मानवीय सहयोगका साथै उद्धार र राहतका लागि भारत सरकार तयार रहेको बताएका थिए।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ।

निवर्तमान मुख्यमन्त्री शाह उपचारका लागि भदौ १० गते स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए। नयाँदिल्लीमा भएको उक्त भेटवार्तालाई नेपाल–भारतबीचको आपसी सद्भाव, मानवीय संवेदना तथा विपद्का समयमा सहकार्यको भावनासँग जोडेर हेरिएको छ।