भोटेकोशी बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलको ३ लाख ६० हजार सहयोग

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ३ लाख ६० हजार ८ सय ३३ रुपैयाँ सहयोग गर्ने भएको छ।
संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक र अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम राहतका लागि उपलब्ध गराउने घोषणा गरेका हुन्।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संसदीय दलले जनाएको छ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश सरकारका मन्त्रीहरूको एक–एक महिनाको पारिश्रमिकसमेत बाढी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरेको छ।
यस्तै, प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गर्ने र आवश्यक औषधिको व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।





प्रतिकृया दिनुहोस्